• शुक्रबार, साउन १५ २०८३

स्थानीय चुनावमा कसलाई कति मत  ?


बुधबार, जेष्ठ १८ २०७९
820
Shares

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ ।

एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् । 

कांग्रेसले पालिका प्रमुखमा झन्डै ४४ प्रतिशत हिस्सा हात पारे पनि सातै पद (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुला सदस्य) को हिसाब निकाल्दा एमालेले सबैभन्दा बढी मत पाएको छ ।

यसमा निर्वाचन आयोगले उपलब्ध गराएको उदयपुरको त्रियुगा नगरपालिकाबाहेकको तथ्यांक विश्लेषण गरिएको हो । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुँदै छ । ७ सय ५१ पालिकामा सातै पदमा गरी ७ करोड ५८ लाख ९ हजार ७ सय ३२ मत सदर भएको थियो ।

जसमध्ये एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ । यो कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत हो । एमालेले पालिका प्रमुख र अध्यक्षमा सबैभन्दा बढी ३८ लाख ९ हजार ६ सय ९१ मत पाएको छ ।

एमालेले २०७४ को निर्वाचनमा सातै पदमा गरी २ करोड १४ लाख ५० हजार मत पाएको थियो । त्यति बेला एमालेका पालिका प्रमुख र अध्यक्षका उम्मेदवारले ३१ लाख मत पाएका थिए । त्यस्तै वडाध्यक्षले प्राप्त गरेको मत ३१ लाख रहेकामा यसपालि ३८ लाख मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपालि कुल मतदाताको संख्या ३६ लाख ६१ हजार बढी थियो ।

स्थानीय तहको निर्वाचनमा दोस्रो मत कांग्रेसले पाएको छ । कांग्रेसले एमालेको भन्दा ८ लाख ४७ हजार ९ सय ९४ मत कम पाएको छ । कांग्रेसका सातै पदका उम्मेदवारले २ करोड ५० लाख २५ हजार ९ सय १९ मत पाएका छन् । यो कुल सदर मतको ३३ प्रतिशत हो । कांग्रेसले २०७४ मा २ करोड ८ लाख ७४ हजार मत पाएको थियो ।

२०७४ मा अध्यक्ष र प्रमुखमा कांग्रेसले ३१ लाख मत पाएकामा यसपालि ३७ लाख मत खसेको छ । वडाध्यक्षमा पाँच वर्षअघि ३१ लाख पाएको कांग्रेसले यसपालि ३९ लाख पुर्‍याएको छ ।माओवादीले सदरमध्ये १ करोड १ लाख ३२ हजार ३ सय १५ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको छ ।

उसले पाँच वर्षअघि सातै पदमा १ करोड १२ लाख १४ हजार १ सय ३३ मत पाएको थियो । माओवादीले २०७४ मा भन्दा १० लाख ८१ हजार ८ सय १८ मत कम पाएको हो । २०७४ को निर्वाचनमा माओवादीले प्रमुख/अध्यक्षमा १६ लाख मत पाएकामा यसपालि १३ लाख मात्रै खसेको छ । वडाध्यक्षमा पनि २०७४ मा १६ लाख ७८ हजार मत पाएको माओवादीले यसपालि १५ लाख मात्रै पायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार