
गोरखा। गोरखाको शहिद लखन गाउँपालिकाका सबै घरमा घर नम्बर राखिने भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापामगरले सोमवार पदभार ग्रहण गर्दै पालिका भरका घरमा नम्वर राख्ने निर्णय गरेको हो ।
पालिकामा करीव ८ हजार घरधुरी रहेका छन् । साथै सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्याइदिने निर्णय गर्नुभएको छ। पहिलो चरणमा मनकामना वजार क्षेत्रका घरको नम्वर राख्ने अध्यक्ष थापामगरले जानकारी दिए ।

सबै घरमा घर नम्वर राखेपछि ब्यक्ति पहिचान गर्न र सेवा प्रवाहलाई ब्यवस्थित गर्न सहयोग पुग्ने उनको विश्वास छ । पदभार ग्रहणसँग अध्यक्ष थापामगरले पालिकाको टोल वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पनि निर्णय गरेको छ ।
अहिले सामाजिक सुरक्षा भत्ताका लागि घैरुङस्थित बैङ्कमा आउनु पर्ने वाध्यता रहेको छ । लाभग्राहीको घरघरमै पु¥याउन नसके पनि अब भने सबैलाई पायक पर्ने स्थान छनौट गरि टोल वस्तीमै पुगेर भत्ता वितरण गर्ने उनले जानकारी दिए । यसका लागि बैङ्कसँग समन्वयको पहल शुरु भैसकेको उनको भनाई छ ।
जेठ ६ गते मुख्य निर्वाचन अधिकृतसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका अध्यक्ष थापामगरले आज पदभार ग्रहण गरेका हुन् । उनले पालिकाका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । शहिद लखन गाऊँपालिकाको अध्यक्षमा थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।