गोरखा । गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णबहादुर रानाम मगर र उपमेयर मसली माया थोकर (सपना पुन) ले आज पद तथा गोपनियताको सपथग्रहण लिए लगत्तै पदभार सम्हालेका छन् ।
गोरखा नगरपालिका स्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै मेयर रानाले सुन्दर नगरी बनाउने अभियानमा आफु प्रतिवद्ध रहेको बताएका छन् । कृषि, उधोग तथा पर्यटनको विकास गर्दै गोरखा नगरलाई देशकै नमुना र हेर्न लायक नगरी बनाउने गरी आफुले ५ बर्ष काम गर्ने बताउदै रानाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक समेत आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
चुनावबाट जुन सुकै दलबाट चुनिएर आएपनि नगरपालिकाभित्र पसेपछि एउटै परिवार भएर ब्यवस्थित नगर बनाउने अभियानमा एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै उपमेयर थोकरले समेत सुन्दर नगरसंगै र हरियाली शहर बनाउने योजनामा आफु दृढ रहेको बताएकी छिन् ।
पछाडी परेका नागरिक, महिला, बालबालिका तथा अपांगता भएकाहरुको अभिभावकका रुपमा नगरपालिकाले काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले गोरखा नगरको ऐतिहासिकतालाई प्रचार गर्दै पर्यटकिय हव बनाउने योजनाका साथ अघि बढ्ने बताएकी छिन् ।
साथै उनले यसअघिका जनप्रतिनिधीले सुरु गरेका काम, योजना र अभियानलाई पूरा गर्न समेत आफु प्रतिवद्ध रहेको बताएकी छिन् ।