गोरखा । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तरगत गोरखाका ११ वटै स्थानीय तहको मतपरिणाम सार्वजानिक भएको छ ।
२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा नेकपा माओवादी केन्द्रले सानदार जित हासिल गर्दा नेपाली काँग्रेसले भने लज्जास्पद हार ब्यहोर्नु परेको छ । २०७४ सालमा ९ स्थानीय तह जितेको काँग्रेस हाल २ पालिकामा मात्रै खुम्चिन पुगेको छ ।
५ बर्षअघि ९ पालिकामा ब्यहोरेको हारलाई नेकपा माओवादी केन्द्रले २०७९ सालमा आएर बदला लिएको छ । पाँच बर्षअघि काँग्रेसले बारपाक सुलिकाेट र शहिद लखन गाउँपालिकाबाहेक सबै पालिका जितेकाे थियाे । तर याे निर्वाचनमा माओवादीले सिरानचाेक र आरुघाटबाहेक सबै पालिका खाेस्न सफल भएकाे छ ।
११ स्थानीय तह र ९४ वटा वडा रहेको गोरखामा माओवादीले ९ पालिकामा प्रमुख, ६ पालिकामा उपप्रमुख र ४३ वटा वडामा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेसले २ पालिकाको प्रमुख, ५ पालिकामा उपप्रमुख र ३७ वटा वडा विजयी बनेको छ भने नेकपा एमाले १० वटा वडामा, जनता समाजवादी ३ वटा वडा र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।
जसमा मााअेवादी केन्द्रबाट गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना मगर, पालुङटार नगरपालिका मेयरमा विवश चिन्तन, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट, भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोक प्रसाद बञ्जारा, शहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेशबाबु थापा, गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना, धार्चे गाउँपालिकाको अध्यक्षमा लक्ष्मण गुरुङ र चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामाले विजय हासिल गरेका हुन् ।
त्यस्तै नेपाली काँग्रेसबाट आरुघाट गाउँपालिकाको अध्यक्षमा राजु गुरुङ र सिरानचोक गाउँपालिकामा ज्ञानेन्द्र गुरुङ विजयी भएका छन् ।
उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै हावी छ । जसमा पालुङटार नगरपालिकाको उपमेयरमा बन्दना पाण्डे, अजिरकोटमा अनिता भुजेल, बारपाक सुलिकोट गाउँपालिका सनमाया गुरुङ, धार्चेमा सुनिला गुरुङ, चुमनुब्रीमा लक्ष्मी गुरुङ र शहिद लखनमा इन्दिरा तिवारीले उपाध्यक्षमा जितेकी छिन् ।
५ बर्षअघि ७ वटा पालिकामा उपाध्यक्ष जितेको नेपाली काँग्रेसले भने यो पटक भने ५ वटामै चित्त बुझाउनु परेको छ । जसमा गोरखा नगरपालिकाको उपमेयरमा मसलीमाया थोकर (सपना पुन), गण्डकी गाउँपालिकामा ललिता अधिकारी, भिमसेन थापामा अमृता वस्ती, आरुघाटमा कल्पना नेपाली र सिरानचोकमा रीता देवकोटा निर्वाचित भएकी छिन ।
यता नेकपा एमाले र जनता समाजवादी पार्टीले समेत आफ्नो जनमत बढाउन त परकाे कुरा उल्टै पाएकाे मतलाई जाेगाउन समेत सकेनन्। पाँच बर्षअघि १४ वटा वडा जितेकाे एमालेले हाल १० वटा वडा र जसपाले जितेकाे ५ वटा वडाबाट आफुलाई घटाएर ३ वटा वडामा मात्रै सिमित बनाएकाे छ ।