
सुदिप श्रेष्ठ, गोरखा । केन्द्रिय राजनीतिमा पकड जमाएका शिर्ष नेताले गोरखामा आफ्नै पालिकामा हार ब्यहोर्नु परेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनबाहिरको दल नेकपा एमालेसंग चुनावी तालमेल गर्दा समेत जनता समाजवादी पार्टीलाई पालुङटारमा जिताउन सकेनन् ।
२०७४ सालमा समेत तत्कालिन नयाँ शक्तिलाई विजयी गराउन नसकेका डा भट्टराईले यो पटक समेत आफ्नै गृह पालिकामा नमिठाे हार ब्यहोरेका छन् ।



पालुङटारमा नेकपा माओवादी केन्द्रले विजय हासिल गर्दा जसपा दोस्रोमै सिमित हुन पुग्यो । मेयरमा माओवादी केन्द्रका विवश चिन्तनले ६ हजार ७२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५ हजार ५७९ मत ल्याउदै विजयी बनेकी हुन् ।
त्यस्तै पालुङटार नगरपालिका नै घर भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले समेत याे पटक आफ्नो पार्टीलाई जिताउन सकेनन् । २०७४ सालमा पालुङटारको मेयरसहित जिल्लाका ११ मध्ये ९ स्थानीय तहमा विजय हासिल गरेको ‘जस’ पाएका पाण्डे समेत यो पटकको निर्वाचनमा फेल खाएका छन् ।


राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका पूर्व नेता समेत रहेका पाण्डेको पार्टी नेपाली काँग्रेस यो पटक पालुङटारमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । निवर्तमान मेयरसमेत रहेका काँग्रेसका उम्मेदवार इ दीपकबाबु कँडेल ४ हजार ९९७ मत ल्याउदै तेस्रो भएका हुन् ।
उपमेयरमा समेत चेतकुमारी श्रेष्ठ फेरी पराजित बनेकी छिन् । २०७४ सालमा समेत हार ब्यहोरेकी उनले यो पटक ५ हजार ७७ मत पाएकी छिन् ।
त्यस्तै केन्द्रिय राजनीतिमा सधै पकड जमाउने मध्येका अर्का नेता हुन नारायणकाजी श्रेष्ठ । नेकपा माओवादीका बरिष्ठ नेता समेत रहेका श्रेष्ठले समेत जहिल्यै आफ्नो गृह पालिका नेपाली काँग्रेसलाई सुम्पिरहनुपर्ने अवस्था छ ।


२०७४ सालमा समेत काँग्रेससंगै हाल ब्यवहोरेका श्रेष्ठले यो पल्ट पनि फरक स्वाद लिन पाएनन् । यो पटक समेत सिरानचोक गाउँपालिकामा नेपाली काँग्रेसले नै अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।
अध्यक्ष ज्ञानेन्द्र गुरुङले ५ हजार ४ सय ३ मत प्राप्त गर्दा उनका निटकतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा समेत कांग्रेसकै रिता देवकोटा विजयी भएकी छिन । उपाध्यक्ष पदमा विजयी देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पुर्ण कुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन् ।


