गाेरखा । आफै संघिय अध्यक्ष रहेकाे डाक्टर बाबुराम भट्टराईकाे पार्टी जनता समाजवादीले गृहनगर गोरखाको पालुङटारमा समेत हार ब्यहाेरेकाे छ । साे पालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेकाे हाे ।
मेयरमा माओवादी केन्द्रका विवश चिन्तनले ६ हजार ७२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याएका छन् ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका इ. दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४ हजार ९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५ हजार ५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन् ।
गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो भइन् ।
पूर्वप्रधानमन्त्री भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल थियो ।