गोरखा । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन् ।
रानाले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका पन्तलाई १ हजार ८५६ को फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
रानाले ८ हजार ९६४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा राना र पन्त बिच प्रतिस्पर्धा भएको थियो । उक्त समयमा ६ हजार ५६० मत ल्याएर पन्त बिजयी भएका थिए भने रानाले ५ हजार २६ मत प्राप्त गरेका थिए ।
त्यस्तै मेयरका अर्की उम्मेदवार नेकपा एमालेकी सम्झना देवकोटाले ४ हजार ९०९ मत प्राप्त गरेकी छन् ।
गोरखा नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्र बिच तालमेल भएको थियो ।
तालमेल पछि प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार नारायण खत्री भने पराजित बने ।
गोरखा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी मसलीमाया थोकर बिजयी बनिन् ।
उनले ७ हजार ४५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवी बहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् ।
१४ वडा रहेको गोरखा नगरपालिकामा ६ वटा वडामा कांग्रेस, पाँच वटामा मोआवादी केन्द्र, दुई वटामा नेकपा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका हुन् ।
जसमा वडा नम्वर १, २, ९, १०, १२ र १३ नेपाली कांग्रेस, वडा नम्बर ४, ७, ८, ११ र १४ नेकपा माओवादी केन्द्र र वडा नम्बर ३ र ५ भने नेकपा एमालेले जितेको हो । त्यस्तै वडा नम्बर ६ भने स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।