• शनिबार, साउन १६ २०८३

कुन नेताको मतदान केन्द्र कहाँ ?


बिहिबार, बैशाख २९ २०७९
600
Shares

शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि यतिबेला नेताहरु, मतदाताहरु आ–आफ्नो मतदान नामावली भएको जिल्ला गएका छन् ।

कुन नेताले कहाँबाट हाल्दैछन् भोट

सभामुख अग्निप्रसाद सापकोटा शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन्। सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्ने उनको उनको सचिवालयले जनाएको छ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र नेता घनश्याम भुसाल  स्थानीय तह निर्वाचनका लागि गृहनगर पुगिसकेका छन् ।  उपाध्यक्ष पौडेल र नेता भुसालले रुपन्देन्हीका छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान गर्नेछन् भने पोखरेलले दाङको तुलसीपुरबाट मतदान गर्ने उनीहरुले जनाएका छन् ।

पौडेलले बुटवल उपमहानगरको वडा नम्बर ८ मा रहेको सडक डिभिजन कार्यालय र भुसालले तिलोत्तमा नगरपालिकाको विश्वशान्ति मतदान केन्द्रबाट मतदान गर्ने छन् । त्यस्तै महासचिव पोखरेलले दाङ तुलसीपुर उपमहानगरपालिका वडानम्बर १९ स्थिति जनता विद्यापीठमा रहेको छ ।

स्थानीय तह निर्वाचनमा चितवन जिल्लाबाट प्रचण्डसहित एमालेका दुई शीर्ष नेताले मतदान गर्ने भएका छन् । चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा मतदानका लागि गृहजिल्ला चितवन पुगिसकेका छन् ।

प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् भने एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा र थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् ।

थापाले नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । त्यस्तै पाँच दलबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती र एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्नेछन् ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ । शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् । संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् । महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।

महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधिसभा निर्वाचन भिड्दै आएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार विहान सात बजेपछि व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने उनले बताए ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गर्ने भएका छन् । मोरङको विराटनगर महानगरपालिका– ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार विहान ७ बजे नै मतदान गर्ने छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनी अहिले विराटनगरमै छन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ– ६ नै हो ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गोरखाबाट मतदान गर्ने भएका छन् ।

श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका ८ स्थित परोपकार माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका हुन्। बाबुरामले गोरखाको पालुङटार नगर एकको अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्।

नेकपा माओवादी केन्द्रका नेताहरु हरिबोल गजुरेलले सिन्धुली, गिरिराजमणि पोखरेलले महोत्तरी र मातृकाप्रसाद यादवले धनुषाबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुन गइरहेको स्थानीय चुनाव लागि उनीहरु यसअघि नै आफ्नो क्षेत्र पुगिसकेका छन्।

गजुरेलले कमलामाई नगरपालिका ४ स्थित कमला माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्। यस्तै पोखरेलले बर्दिबास नगरपालिका ३ स्थित गौरीडाँडा र यादवले सबैला नगरपालिका २ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्।

अर्थ मन्त्री जनार्दन शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगिसकेका छन्। शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्।

यस्तै उर्जा,जल स्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका २ स्थित राजतीर्थबाट मतदान गर्ने भएकी छिन्। उनको निर्वाचन क्षेत्र समेत ललितपुर क्षेत्र नम्बर तीन हो ।

यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल स्थानीय तह निर्वाचनमा मतदान गर्न बाग्लुङ पुगिसकेका छन्। मन्त्री पौडेलले बाग्लुङ नगरपालिका १२ स्थित पृथ्वी माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। शुक्रबार विहानै मतदान गरेर काठमाडौं फर्किने फर्किने पौडेलले बताए।

यस्तै शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले धनुषाबाट मतदान गर्ने भएकी छिन्। उनले धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बाट मतदान गर्ने भएकी छिन्। यस्तै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज‘अथक’ले बाँकेबाट मतदान गर्ने भएका छन्। मन्त्री गहतराजले बाँकेको कोहलपुर नगरपालिका ९ स्थित कृषि विकास बैंकको तालिम केन्द्रबाट मतदान गर्ने भएका छन्।

यस्तै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंबाटै मतदान गर्ने भएकी छिन्। मन्त्री श्रेष्ठले काठमाडौ महानगर ३२ स्थित कोटेश्वरबाट मतदान गर्नेछिन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार