• शनिबार, साउन १६ २०८३

आचारसंहिता उल्लंघन गर्दै बाबुराम भट्टराई, मौन अवधीमा पालुङटारका टोलटोलमा सभा


बुधबार, बैशाख २८ २०७९
1.7K
Shares

सुदीप श्रेष्ठ, गोरखा

जनता समाजवादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मौन अवधीमा समेत चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

निर्वाचन आयोगले मंगलबार राती १२ बजेदेखि मौन अवधी घोषणा गरेपनि डा भट्टराईले भने गृहनगर पालुङटारका बिभिन्न वडाका टोलहरुमा पुगेर चुनावी सभा आयोजना गरिरहेका हुन् ।

केहिदिन अघिदेखि पालुङटारमा केन्द्रित रहेर चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका उनले मौन अवधीमा समेत त्यस्ता कार्यक्रमलाई निरन्तता दिदै निर्वाचन आचार संहिता विपरित कार्य गरिरहेकाे पाइएकाे हाे ।

आयोगले मतदानको ४८ घण्टाअघिदेखि शुन्य समय अर्थात मौन अवधी घोषणा गर्ने गर्छ । मौन अवधीमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाईँदैन् ।

त्यस्तै यस अवधीमा मतदातालाई प्रभाव, दवाव साथै प्रलोभनमा पार्ने कार्य वा कुनैपनि प्रकारले भाेट माग्न समेत रोक लगाएको छ । तर भट्टराई भने निर्धक्क साथ पालुङटारका बस्ती बस्ती पुगेर मतदातासंग आफ्नो पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न ‘कन्भिन्स’ गरिरहेका छन् ।

मौन अवधी सुरु भएकै दिन आज बिहान भट्टराईले घरदैलो लगायत चुनावी सभालाई सम्बोधन गरिरहेको तस्विर आफैले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरमा समेत राखेका छन् । सिभिलखबरलाई प्राप्त सुचना अनुसार आज भट्टराईले पालुङ्टार स्थित खाेप्लाङ्गकाे खुर्पाजुङ्ग लगायतका बस्तीहरुमा सभा नै आयाेजना गरेर चुनावी सम्बाेधन गरिरहेका छन् ।

यता निर्वाचन अधिकृतकाे कार्यालय पालुङ्गटारले समेत बाबुराम भट्टराईकाे गतिविधी आचार संहिता विपरित रहेकाे स्विकार गरेकाे छ । ‘पूर्वप्रधानमन्त्री ज्यूकाे बिषयमा हामीलाई पनि जानकारी आएकाे छ, हामीले सचेत गराउने तयारी गरिरहेका छाै’ निर्वाचन अधिकृत गाेकर्णराज पन्तले सिभिलखबरलाई भने ।

पन्तका अनुसार आचार संहिता उल्लंघन गरेकाे भन्दै डा भट्टराईका बिरुद्ध यसअघि समेत लिखित र माैखिक उजुरीहरु परेकाे थियाे । त्यस लगत्तै कार्यालयले भट्टराईसंग स्पष्टिकरण समेत साेधेकाे उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईका बिरुद्ध पटक पटक उजुरी परेकाे र कार्यालयले यसअघि समेत स्पष्टिकरण साेधेपनि आचार संहिता उल्लंघनका कार्य गर्न भने उनले राेकेका छैनन् ।

डा भट्टराईले निर्वाचन आचार संहिताको उल्लंघन मात्रै गरेका छैनन, सत्ता गठबन्धनभित्र भएको लिखित सहमतीको समेत खिल्ली उडाएका छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दल बाहेकका दलसंग चुनावी तालमेल नगर्ने शिर्ष नेताहरुको लिखित सहमतीलाई लत्याउदै डा भट्टराईको पार्टी जसपाले उनकै गृहनगर पालुङटारमा नेकपा एमालेसंग तालमेल गर्ने निर्णय समेत गरेको छ ।

भट्टराईले बैशाख ६ गते गोरखा सदरमुकामको खेलकुद मैदानमा पार्टीको आमसभालाई सम्बोधन गर्न आएको बेला पत्रकारसंगको कुराकानीमा सरकारी गठबन्धन बाहेकका दलस‌ंग तालमेल गर्नु राजनीतिक नैतिकता बाहिरको बिषय भएकाले कुनै हालतमा एमालेसंग तालमेल नहुने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार