गोरखा । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गोरखा नगरपालिकाको मेयर पदमा सम्झना देवकोटा एमालेका तर्फबाट उम्मेदवार बनेकी छिन् । यस अघि २०७४ सालमा उपमेयर उम्मेदवार बनेकी देवकोटा नेपाली काँग्रेसकी विनाकुमारी श्रेष्ठसंग पराजित बनेकी थिइन् ।
त्यसबेला एमालेबाटै मेयर पदमा उम्मेदवार बनेका विशेश्वर कट्टेलको भन्दा बढी लोकप्रिय मत ल्याएकी उनी यो पटक आफै मेयरमा उम्मेदवार बनेकी हुन् । त्यसबेला कट्टेलले ४ हजार २ सय ८३ मत ल्याउदा उपमेयरकी उम्मेदवार देवकोटाले कट्टेलको भन्दा ४ सय २२ मत बढी ल्याउदै प्रतिस्प्रर्धामा दोस्रो बनेकी थिइन् ।
पाँच बर्ष अघि उपमेयर पदमा १ हजार ५ सय ५५ मतान्तरले दोस्रो बनेकी उनी अहिले मेयरमा पहिलो हुने दौडमा छिन् । घरघर गएर मतदातासंग मत मागिरहेकी देवकोटाको मुख्य एजेण्डा ‘महिलालाई भोट’ भन्ने छ । कार्यकारी पदमा महिलालाई पु¥याए समाज रुपान्तरण र विकासमा टेवा पुग्ने भन्दै देवकोटाले मतदातालाई ‘कन्भिन्स’ गरिरहेकी छिन् ।
नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी उनी आफुले चुनाव जिते गोरखा नगरको मुहारलाई सुन्दर बनाउने गरी काम गर्ने बताउछिन् । ‘विकास गर्न ठूला कुरा गर्नुपर्दैन, सानो परिवर्तन गरे पुग्छ’ सिभिलखबरसंगको कुराकानीमा देवकोटाले भनिन् ‘सक्षम र सवल महिला बनाउने सवालमा म पूर्ण प्रतिवद्ध छु ।’
त्यस्तै उनको अर्को महत्वपूर्ण एजेण्डा भनेको युवालाई गाउँमै स्वरोजगार बनाउने भन्ने छ । हरेक बस्तीका युवालाई ब्यवसायसंग जोडेर विदेशीने क्रम रोक्ने योजना आफुसंग रहेको भन्दै उनले कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण विकास गर्दै हरेक बर्ष कम्तिमा २० करोडको कृषिजन्य उत्पादन अन्य जिल्लामा निर्यात गर्न सकिने गरी काम गर्ने बताएकी छिन् ।
त्यस्तै देवकोटाले शैक्षिक क्षेत्रको विकास, पर्यटन पूर्वाधारको निर्माण र विस्तारलाई समेत जोड दिदै मतदाताकहाँ पुगेकी छिन् । एमाले राजनीतिमा प्रखर महिलाको छवि बनाएकी देवकोटा गोरखा नगरपालिका ३ कि स्थायी बासिन्दा हुन् ।