
गोरखा। नेपाली कांग्रेस गोरखाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएहरुलाई कारबाही गरेको छ ।
कांग्रेस गोरखाले सनिवार एक विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा बागी उम्मेदवारी दिएहरुलाई पार्टीबाट निस्काशन गरिएको पार्टीले जनाएको छ । बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।


बागी उम्मेद्वारी दिएकाहरुलाई बैशाख १७ गतेसम्म फिर्ता लिन आग्रह गरिएको र फिर्ता नलिएकालाई २१ गते साँझसम्म उम्मेद्वारी निस्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न समय दिइएको थियो । त्यसपछि पनि बागी उम्मेदवार कायम रहेकाहरुलाई ५ वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही भएको कांग्रेसका जिल्ला सचिव कृष्णबहादुर आलेले बताए ।
पालुङटार नगरपालिका वडा नम्वर ४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्वर १० का अमर धिताल, आरुघाट गाउँपालिका वडा नम्वर ७ का रणबहादुर बराम, वडा नम्वर ८ का वेदप्रसाद ढकाल, वारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ५ का गोविन्द भट्ट, गोरखा नगरपालिका वडा नम्बर ६ का रंगुबाबु श्रेष्ठ रहेका छन् ।



