
गोरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न महाधिवेशनमा गोरखा जिल्ला मताधिकार प्रयाेग गर्नबाट वञ्चित हुने भएकाे छ । हिजाे शुक्रबार तनहुँकाे आँबुखैरेनीमा बसेकाे गण्डकी प्रदेश फुटबल संघले महाधिवेशनमा मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुंगो लगाउदा गोरखा र कास्की प्रकृयाबाट बाहिरिएका हुन् ।


गण्डकी प्रदेशमा रहेका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लालाई मताधिकारको टुंगाो लगाएको हो । जसमा तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङले मात्रै मताधिकार प्राप्त गरेकाे एन्फाका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले सिभिलखबरलाई बताए ।

एन्फाले बैशाख २४ गतेभित्र प्रतिनिधित्व गर्ने ६ जिल्लाको नाम पठाउन निर्देशन दिएको थियो । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ ।
जसमा एन्फाका ४८ जिल्ला मध्ये ४५ जिल्लाले मताधिकारसहित केन्द्रिय निर्वाचनमा भाग लिनेछन् । यस्तै ए, बी र सी डिभिजन क्लब, प्रशिक्षक संघ, रेफ्री, खेलाडी र महिला समितिले पनि मताधिकारसहित भाग लिनेछन् ।

