• शनिबार, साउन १६ २०८३

भ्रष्टाचारमुक्त पालिका बनाउने यस्ताे छ काँग्रेस गोरखाकाे संकल्प (पूर्ण पाठसहित)


शुक्रबार, बैशाख २३ २०७९
805
Shares

गोरखा । नेपाली कांग्रेस गोरखाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि संकल्प पत्र सार्वजानिक गरेकाे छ । शुक्रबार कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी संकल्प पत्र सार्वजानिक गरेकाे हाे ।

जसमा कांग्रेसले भ्रष्टाचारमुक्त स्थानीय सरकार निर्माण गर्ने संकल्प गरेको छ। जिल्ला सभापति नन्द प्रसाद न्याैपानेले संकल्प पत्र सार्वजानिक गर्दै नेपाली कांग्रेसका उम्मेदवारले जिते गोरखाका स्थानीय तहहरुलाई भ्रष्टाचारमुक्त बनाउदै देशकै नमुना र हेर्न लायक पालिकाका रुपमा स्थापित गर्ने उद्घाेष गरेका छन् ।

‘नेपाली कांग्रेसको उपहार, भ्रष्टाचारमुक्त स्थानीय सरकार’, भन्ने नारालाई कांग्रेसले प्राथमिकतामा उनले बताए ।

त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षालगायतका विषयलाई समेत संकल्प पत्रले जोड दिएकाे छ ।

यसैगरी नेपाली काँग्रेसले जिते गोरखा अस्पतालमा आइसियू सेवा सञ्चालन गर्ने, मुटु उपचार केन्द्र, डाइलासिस सेवा सञ्चालन गर्ने, संकल्प पत्रमा उल्लेख छ। पाँच वर्षको अवधिमा गर्न सकिने खालका काम मात्रै संकल्प पत्रमा समेटेको बताउँदै सभापति न्याैपानेले सोही अनुसार स्थानीय तहमा विजयी जनप्रतिनिधिले काम गर्ने दावी गरे।

चुनावका बेला घोषणा गर्नका लागि मात्र नभएर सङ्कल्पपत्रमा उल्लेख भएअनुसार घोषणपत्रमा लेखे अनुसार जनप्रतिनिधिले काम गरे नगरेको समीक्षासमेत गरिने कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए।

सङ्कल्प पत्रमा नि:शुल्क उपचार, स्वास्थ्य बिमा प्रभावकारी बनाउने, अनिवार्य शिक्षा, प्रविधिमैत्री शिक्षा, विद्युत र इन्टरनेटको बिस्तार, छात्रामैत्री शौचालय निर्माणलगायतका विषय उल्लेख छन्। कृषि पशुपालन, ब्यवशायिक खेती, कृषि उपजको खरिद बिक्री केन्द्र, किसानलाई सहुलियतमा मल, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने विषयलाई कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ।   पर्यटन सूचना केन्द्र संचालन, बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, गोरखा पालुङ्टार र मनकामनालाई पर्यटकीय नगरीकोरुपमा विकास गर्ने, गोरखा सदरमुकामलाई ऐतिहासिक पर्यटकीय मूख्य गन्तब्य बनाउने योजना पनि संकल्प पत्रमा रहेको जिल्ला सचिव थापाले बताए। 

त्यस्तै भेदभाव रहित समाज निर्माण, गाउँगाउँमा बैंक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको लागि विशेष सहायता, खानेपानी, संचार, खेलकुद, वन वातावरण, खनिज, मानव अधिकार, सुशासन र पारदर्शिताको विषयलाई पनि संकल्प पत्रमा कांग्रेस गोरखाले समेटेको छ। 

हेर्नुस कांग्रेसकाे संकल्प पत्रकाे पूर्ण पाठ

आर्थिक समृद्धिको संकल्प ः
– नेपाललाई आगामि १० बर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ नेपाली कांग्रेस अघि बढेको छ । यसका लागि कम्तिमा पनि एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्मको उच्च आर्थिक वृद्धि दर निरन्तर हाँसिल गर्दै हरेक बर्ष अर्थतन्त्रले तीनदेखि पाँच लाख जनाका लागि रोजगारीको अवसर सिर्जना गर्ने नेपाली कांग्रेस केन्द्रले संकल्प गरेको छ । सोही अनुरुप जिल्ला पार्टीले पनि गोरखामा रोजगारी, जीविकोपार्जन, उद्यमशीलता, कृषि तथा पशुपालन जस्ता कामहरुलाई प्राथमिकतामा राखी वढी भन्दा वढी रोजगारी सिर्जना गर्न लाग्नेछ । सोको लागि स्थानीय सरकारहरुसंग समन्वयात्मक रुपमा काम गरी कार्य अगाडि बढाउने छ ।
– उर्जा र अन्तरपालिका स्तरीय सडक सञ्जाललगायतका भौतिक पूर्वाधार निर्माणमा व्यापक लगानी गर्नेछ । यसका साथै व्यापक पूँजी निर्माणको अभियानप्रति उदार सोच राख्न प्रशासन यन्त्रको प्रक्रियागत र संरचनागत सुधार तर्फ अघि बढिनेछ । बलियो राज्य, निजी क्षेत्र र विधिको शासनको प्रत्याभूति नभई सिंगो मुलुकको समृद्धिको कल्पना गर्न सकिन्न । यो कामलाई गोरखा कांग्रेसले प्राथमिकताको साथ राखेको छ ।
-स्थानीय तहमा उत्पादन बृद्धि, रोजगारी सिर्जना, गरीवी निवारण र स्थानीय राजस्व संकलनमा टेवा पु¥याइने खालको गतिविधिको लागि पालिकाका आवश्यक संयन्त्र तयार गरिनेछ । स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाहरुको सीप विकास गर्दै कृषि, उर्जा, साना तथा मझौला उद्योगहरु र पर्यटकीय गतिविधिहरुको विस्तारका लागि नेपाली कांग्रेसले विशेष जोड दिनेछ । उन्नत बीउ, कर्जा र वीमा, वैकल्पिक उर्जा, साना जलविद्युत र सिंचाईका आयोजनाहरु मार्फत उत्पादकत्व बढाउनु कांग्रेसको लक्ष्य हुनेछ ।

स्वास्थ्य क्षेत्रः
 गोरखा अस्पताल र आँपपिपल अस्पतालको भौतिक पूर्वाधार, आवश्यक जनशक्तिको व्यवस्थापन तथा प्रभावकारी सेवाको प्रवन्ध मिलाइनेछ ।
 गोरखा अस्पतालमा आइसियू सञ्चालनमा ल्याउने, आइसियू सञ्चालनलाई आवश्यक जनशक्तिलाई तालिम लगायत प्रोत्साहन गर्ने ।
 गोरखा अस्पतालमा यथाशीघ्र छिटो डायलासिस सेवा सञ्चालन गरी मृगौला रोगबाट पीडित र बिरामीलाई निशुल्क डायलासिस सेवा प्रदान गर्ने । साथै मुटु उपचार केन्द्र सञ्चालन गर्ने र जिल्लामै इकोकार्डियोग्राफी सेवा सञ्चालनमा ल्याई मुटुरोगबाट पिडितको उपचारमा सहजता ल्याउने ।
 नाक, कान, घाँटी सेवा सञ्चालनमा ल्याउने, साथै मृगौला ट्रान्सप्लान्ट गरेका विरामीको नियमित गर्नुपर्ने रगत जाँच अस्पतालमा निशुल्क गरिनेछ ।
 वृद्धवृद्धाका लागि निशुल्क ओ.पि.डी. जेरियाट्रिक ओ.पि.डी. सेवा सञ्चालनमा ल्याई सम्पूर्ण सेवा निशुल्क दिने । सुत्केरी हुन आउने महिला (ब्यथा नलगेका) को लागि आवास÷आमा घर निर्माण गर्ने र अस्पताल भर्ना नहुँदासम्म खाना बस्न निशुल्क ब्यवस्था गरिनेछ ।
 गोरखा र आँपपिपल अस्पतालमा उपचार गर्न आएका महिलाहरुलाई ओ.पि.डी. शुल्क मिनाह गर्ने सोको शोधभर्ना अस्पताललाई उपलब्ध गराउने । गोरखा अस्पतालमा इण्डोस्कोपी, इकोकार्डियोग्राम, सिटिस्क्यान सञ्चालनमा ल्याइनेछ ।
 प्रत्येक नगर र गाउँपालिकामा हाल निर्माणाधीन अस्पतालको भौतिक पूर्वाधारको विकास, चिकित्सकीय तथा विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
 गरिवीको रेखामुनि रहेका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था मिलाइनेछ । जेष्ठ नागरिक, अशक्त, असहाय, सुकुम्बासी र अपांगता भएकाहरुको निशुल्क उपचारको ब्यवस्था मिलाइनेछ ।
 स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी गोरखा अस्पताल र आँपपिपल अस्पतालको सेवा निशुल्क गर्न आवश्यक सहयोग गरिनेछ ।
 व्लड वैँक प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

शिक्षा
– सबै विद्यालय भौतिक सुबिधायुक्त विद्यालय – सबै शिक्षक सक्रिय र योग्य बनाउन प्रशिक्षण– गरीब बालबालिका अभिभावकलाई रोजगारी, आर्जनको स्रोत निर्माण– सँस्कार, सँस्कृति रक्षाका लागि स्थानीय पाठ्यक्रम तयार पारी प्रभावकारी रूपमा लागू गरिनेछ । सवै सामुदायिक विद्यालयमा पुस्तकालय, ठाँउ विशेष स्थानीय भाषावाट पठन पाठनको कामहरु वढाउने व्यवस्था गरिनेछ ।
– गोरखा क्याम्पस र द्रव्यशाह क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तरको वृद्धि गरिनेछ । सो को लागि सवै पालिकावाट आवश्यक वजेटको व्यवस्था मिलाईने छ । अन्य पनि (विभिन्न पालिकामा रहेका पव्लिक क्याम्पसहरुको शैक्षिक तथा भौतिक सुधारका लागि पनि योजना बनाएर अघि बढिनेछ ।
– आर्थिक अवस्था कमजोर भएको युवाहरुलाई स्नातक तहसम्मको अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाईनेछ ।
– सबै विद्यालयहरुमा विद्युत र इन्टरनेट सुविधा उपलब्ध गराइनेछ ।
– दुर्गम भेगका विद्यालयहरुलाई मर्ज गरी आवासिय सुविधा सहितको विद्यालय सञ्चालन गर्ने नीति लिइनेछ ।
– निर्धारित मापदण्डको आधारमा नगरपालिका र गाउँपालिकामा नमूना विद्यालय बनाउने नीति लिइनेछ ।
– प्रत्येक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण र सर्वसुलभ खानेपानीको व्यवस्था गरिनेछ ।
– गाउँ शिक्षा समिति र नगर शिक्षा समितिलाई सक्रिय बनाई गाउँ शिक्षा योजना र नगर शिक्षा योजना निर्माण गरी शैक्षिक संस्थालाई समय सापेक्ष वनाउदै लगिनेछ । प्रत्येक वडामा शिक्षा समिति गठन गरी शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिने छ ।
– जहाँ विद्यार्थी त्यहाँ शिक्षक नीति लागु गरिने छ ।
– दरवन्दी मिलान गरी आवश्यकताको आधारमा शिक्षक व्यवस्थापन गरिने छ ।

कृषि
– प्रत्येक स्थानीय तह (नगरपालिका एवं गाउँपालिका)को कृषि तथा पशु विकास, सहकारी र भूमिसुधारको लागि कृषि ऐन तर्जुमा तथा स्वीकृत गरी कार्यान्वयन गरिनेछ ।
– प्रत्येक पालिकाको भूमि, कृषि तथा पशुपन्छी सम्बन्धी तथ्याङ्क संकलन तथा अध्यावधिक गरी कृषि क्षेत्र विकासको गुरु योजना वनाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
– भू–उपयोगका क्षेत्र निर्धारण गरी आवास क्षेत्र, कृषि उत्पादन क्षेत्र, ब्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र, सेवा प्रवाह हुने क्षेत्र लगायतको सीमांकन गरिनेछ । व्यक्तिगत र सार्वजनिक सम्पूर्ण जमिनलाई उत्पादनमा प्रयोग गरी जमिन खालि नराख्ने नीति अवलम्वन गरिनेछ । जग्गा धनीलाई समेत जग्गा प्रयोगवापत रकम दिइनेछ ।
– उन्नत नश्लका पशुको विकास, पशु श्रोत केन्द्रको विकास गरी पशुपालन व्यवसायको प्रवद्र्ध्धन तथा मूल्य श्रृङ्खलाको विकास गरिनेछ ।
-प्रत्येक पालिकामा कम्तिमा एक एक वटा वहुउद्धेश्यीय सहकारी संचालनमा ल्याई कृषि तथा पशु उत्पादन, प्रशोधन तथा बजारीकरणका कार्यक्रम संचालन गरिनेछ । कृषि उपज भण्डारण साथै खरिद तथा बिक्री केन्द्र स्थापना गरिनेछ ।
– गाँउपालिकामा कृषि क्षेत्रको विकास गर्न ताजा तरकारी, खाद्यान्न बाली तथा बीउ उत्पादन, आलु, अलैंची, अम्रिसो, माछा, कुखुरा, बाख्रा, भैसी र गाईपालनसंगै र दूध उत्पादनमा कार्यक्रमलाई केन्द्रित गरिनेछ । साथै गाँउगाँउमा उत्पादन तथा नतिजा प्रदर्शन गरी प्रविधि विस्तार, सम्भावनाको आधारमा पकेट क्षेत्र, ब्लक तथा जोन स्थापना गरी कृषिमा व्यावसायीकरण तथा बजार प्रवर्द्धनका कार्यक्रमहरु लागु गरिनेछ ।
– किसानलाई कृषि कार्यका लागि आवश्यक पर्ने उत्पादनका साधनहरु कृषि औजार, मलखाद, विउविजन, प्रविधि र अन्य स्रोत साधनको सहज उपलब्धता हुने प्रवन्ध गराइने छ ।
– सामूहिक तथा आधुनिक कृषि प्रणालीलाई प्रोत्साहित गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रबन्ध मिलाईनेछ ।
– कृषि नै विकासको प्रमुख मेरुदण्ड भएको र कृषिबाटै देशको आर्थिक समृद्धि हुने भएकोले कृषिलाई आधुनिक प्रविधियुक्त बनाई प्रत्येक पालिकामा रोजगारी बृद्धि र आम्दानी बृद्धिको लागि व्यावसायिक र विशेष कृषि कार्यक्रम संचालन गरिनेछ ।
– वूढीगण्डकी, चेपे, दरौदी नदी लगायतका अन्य नदी खोलाको आसपासका फाँटहरुमा एकीकृत कृषि विकास कार्यक्रम लागु गरिनेछ ।
– सुख्खा टार तथा सिंचाई सुविधा नभएको क्षेत्रमा आकाशे पानी संकलन, वैकल्पिक उर्जाको समेत प्रयोग गरी लिफ्ट सिंचाई तथा थोपा सिंचाईको प्रवर्द्धन गरी कृषि विकासका कार्यक्रमको प्रवद्र्ध्धन गरिनेछ ।
– बाली तथा पशु बीमाको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
– स्थानीयस्तरमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नको लागि प्रत्येक पालिकामा वहुप्राविधिक शिक्षालयको स्थापना गरी व्यावसायिक तथा प्राविधिक जनशक्ति उत्पादन गरिने छ ।
– भूमिहीन किसान र खेती गर्न चाहने किसानलाई खेतीयोग्य जमीन उपलब्ध गराई साथै खेतीमा संलग्न गराउन जग्गा भाडामा लिई गरिने करार खेतीको अभ्यास गरिनेछ ।
– सीमान्तकृत महिला, भूमिहीन र साना किसानलाई कृषिमा आधारित स्थानीय उद्यम विकासका लागि जग्गा उपलव्ध गराई सहुलियत व्याजदरमा कृषि ऋण उपलव्ध गराउने र कृषि बीमा गर्ने व्यवस्थाहरुलाई प्रत्याभूत हुने गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
– जिल्लामा रहेका समथर फाँटहरु पालुङटार, च्याङ्ली, गाईखुरटार, आरुटार, पोखराटार, महटार, छेवेटार, कुन्दुरटार आदि टारहरुमा भरपर्दो सिंचाई सुविधा प्रदान गरि व्यावसायिक खेतीको कामलाई प्राथमिकताको साथ अगाडी वढाउनेछ ।
– जिल्लाको भूगोल, माटोको परीक्षण गरी, नगदे बाली, पहाडी भागमा फलफुल खेती, हिमाली भागमा जडीबुटी उत्पादन एवं पशुपालनलाई प्रोत्साहित गरिनेछ ।
– सामुहिक खेती गर्न चाहानेलाई प्राथमिकता दिइनेछ । सबै किसिमको उत्पादनको वीमा गर्ने ब्यवस्था मिलाइनेछ ।किसान पेन्सन कार्यक्रम अगाडि बढाइनेछ ।
– उत्पादनको आधारमा पकेट क्षत्रहरु निर्धारण गरिने छ ।

भौतिक पुर्वाधार
– अन्तरपालिका स्तरीय रणनीतिक सडकहरुको विस्तार तथा कालोपत्रे गरिनेछ ।
– प्रत्येक पालिकावाट वडा सम्म जाने वाटो व्यवस्थित गरिनेछ ।
– जिल्लामा सडक सजाल जोडिएको नदिनालामा पुलको व्यवस्था गरिनेछ । साथै जिल्लाका आवश्यक ठाउमा झलुगे पुलको व्यवस्था गरिनेछ ।
– जिल्लाको चुमनुव्री, धार्चे, वारपाक सुलीकोट, अजिरकोट, आरुघाटको उत्तरी क्षेत्रमा विशेष विकास आयोजनाको लागि सघिय र प्रदेश सरकारसग पहल गर्ने ।
– सहरोन्मुख सडकहरुमा ढलको व्यवस्था मिलाइनेछ ।
– आवश्यक स्थान पहिचान गरी सार्वजनिक सौचालयहरु निर्माण गरिने छ ।
– बेनीघाट, आरुघाट सिर्दिबास लार्के भञ्ज्याङ मोटरबाटोलाई शीघ्र निर्माण गर्न पहल गरिनेछ ।
– गाउँपालिका र नगरपालिकामा भएको कच्ची सडकलाई स्तरोन्नति गरी बर्ष भरी नै सञ्चालन गर्न सकिने बनाइनेछ ।

पर्यटन
 जिल्लाको सवै पालिकाको महत्वपूर्ण पर्यटकीय स्थलको पहिचान गरी सवै पालिकालाई जोड्ने गरी सडक संजाल तथा पूर्वाधारको विकास गर्ने ।
 पालिकाहरुको समन्वयमा आवश्यक स्थान पहिचान गरी पर्यटक सूचना केन्द्रको स्थापना गरी पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने ।
ठाउँ–ठाउँमा पर्यटकमैत्री होटेल तथा रेष्टुरेष्टहरु निर्माण गरिनेछ ।
 उपयुक्त पथ प्रदर्शकहरुको ब्यवस्था गर्ने । साथै पर्यटनको चेनसंग जोडिएको अन्य मानवीय श्रोत तथा अन्य संरचना गर्न
 प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्दै प्राकृतिक सौन्दर्यता बढाउने ।
 ऐतिहासिक, धार्मिक, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्टी पौवाहरुको संरक्षण र संवद्र्धन गरिनेछ ।
 बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सहयोग गरिनेछ ।
 मनास्लु क्षेत्र, चुम उपत्यका, गणेश हिमाल र धार्चे क्षेत्रको पर्यटकीय मार्गहरुलाई ब्यवस्थित गरिनेछ ।
 रुविनाला भञ्ज्याङ, नारद पोखरी, दुध पोखरी क्षेत्रमा सुरक्षित पदमार्गलगायतका पर्यटन पूर्वाधार निर्माण गरिनेछ ।
 गोरखा नगर, पालुङ्टार नगर, मनकामना क्षेत्रलाई सुन्दर नगरीका रुपमा विकास गरिनेछ ।
 सदरमुकाम पोखरीथोक क्षेत्रलाई ऐतिहासिक रुपमा विकास गरी पर्यटकीय मुख्य गन्तब्य बनाइनेछ ।

सामाजिक क्षेत्र ः
 आवश्यकता अनुसार बालगृह खडा गरी टुहुरा तथा सडक बालबालिकालाई आरक्षण गरी आवासीय निशुल्क शिक्षा उपलब्ध गराइनेछ ।
 चौतारा, मठ मन्दिर, पार्टीपौवा, धार्मिक संस्थाहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।
 सामाजिक सद्भाव कायम राखी शान्ति सुव्यवस्थित समृद्ध समाजको निर्माणमा जोड दिइनेछ ।
 सामाजिक भेदभावको अन्त्य गरिनेछ ।धार्मिक सहिष्णुणता कायम गर्नको लागि आवश्यक कार्य गरिनेछ ।
 भौगोलिक र जातीय विशेषता अनुरुप प्रत्येक गाउँपालिका र नगरपालिकामा साँस्कृतिक कला संरक्षण समिति निर्माण गरी संस्कृति र कलाको रक्षा र विस्तार गरिनेछ ।
 बालश्रम र बाल शोषणलाई पूर्ण प्रतिवन्ध लगाइनेछ ।
 प्रत्येक नगरपालिका र गाउँपालिकामा वैंकिङ सेवा उपलब्ध गराइनेछ ।
 गाउँगाउँमा सहकारी बैंकको अवधारणालाई अगाडि बढाइनेछ ।
 एकीकृत बस्ती विकासमा जोड दिइनेछ ।

एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला
– एकल महिलालाई संघीय सरकारबाट प्राप्त हुने बजेटबाहेक आयआर्जन जीविकोपार्जन, रोजगारीको लागि आवश्यक सीप, अनुदानको व्यवस्था तथा सहुलियत कर्जाको व्यवस्था गरिनेछ ।
– अपाङ्गता भएका व्यक्तिहको लागि सहज तथा निशुल्क सार्वजनिक सेवाको पहुँच, मानवमैत्री भौतिक पूर्वाधारको व्यवस्था, अपांगता भएका व्यक्ति तथा परिवारको लागि रोजगारी, निशुल्क सहायता सामग्रीको व्यवस्था तथा निशुल्क बीमाको लागि पहल गरिनेछ ।
– आर्थिक अवस्था कमजोर भएका गरीव, दलित, जनजाति बालबालिकाकाहरुको अवस्था पहिचान गरी निशुल्क शैक्षिक जिवन वीमाको व्यवस्था गरिनेछ ।
– जेष्ठ नागरिकहरुको लागि समय बिताउने विश्राम स्थलको व्यवस्था मिलाईनेछ । साथै असहाय तथा संरक्षण नभएको जेष्ठ नागरिकहरुलाई आश्रमको व्यवस्था गरिनेछ ।
– गर्भवती तथा सुत्केरी महिलालाई सम्वोधन हुने खालको कार्यक्रम पालिकासँगको समन्वयमा संचालन गरिनेछ ।
प्रकोप जोखिम व्यवस्थापनमा नेपाली कांग्रेस
– सवै नगरपालिका र गाँउपालिकामा बहुप्रकोप जोखिम तथा खुल्ल क्षेत्र पहिचान गरी नक्शाङ्कन गर्ने (जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी हुने सक्ने स्थान पहिचान गरिनेछ ।
– सडक पूर्वाधार तथा अरु भौतिक संरचना निर्माण गर्दा विपतबाट जोखिममुक्त विकास निर्माणको अवधारण अनुसार अगाडि बढाइनेछ ।
– सवै स्थानीय तहको भू–उपयोगको योजना बनाई मानिसलाई आफनै भूगोलमा बसोबासका लागि उत्प्रेरित गरिनेछ ।
– विपत्पछिको खोज उद्धार र राहत तथा पुनर्वास र पुनस्र्थापनाका लागि हरेक गाँउपालिका र नगरपालिकाहरुले विपत् उद्धार तथा राहत, खोज, पुनर्निर्माण, पुनर्वास तथा पूर्नस्थापनाका लागि योजना तर्जुमा गरी लागू गर्ने, यस अन्तर्गत विपत् प्रतिकार्यको रणनीति तयार गरी हरेक गाँउपालिका, नगरपालिका र वडास्तरसम्म खोज उद्धार राहत सामग्रीहरुको भण्डारण सुनिश्चितता गरिनेछ ।
– विपत्बाट जोखिममुक्त विकासको भावनालाई आत्मसात गदै हरेक विद्यालयमा विपत् सम्वन्धी अध्ययन, अध्यापन तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालनका लागि उत्प्रेरणा गरिनेछ ।
– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सामाजिक संघ–सँस्था, स्वयंसेवी संस्थाहरुको क्षमता अभिवृद्धि तथा कृतिम घटना प्रदर्शनको कामहरुलाई प्रभावकारी रुपमा अगाडि वढाउने ।

विद्युत क्षेत्र ः
 केन्द्रीय विद्युत प्रसारण लाइनलाई विस्तार गर्दै जिल्लाभरि नै पु¥याइनेछ ।
 नगर र गाउँका बस्ती क्षेत्रभित्र सडक बत्तीको ब्यवस्थापनमा विस्तार र सुधार गरिनेछ ।
 गाउँघरको मुख्य मुख्य ठाउँहरुमा निरन्तर विद्युत प्रवाहको ब्यवस्था मिलाइनेछ ।
 विद्युतीय तारहरुलाई ब्यवस्थित गरिनेछ ।
 आर्थिक अवस्था कमजोर गरिवीको रेखा मुनि रहेका गरिव पहिचान भएका घरमा घर परिवारलाई निशुल्क बत्तिको व्यवस्था गर्दै न्यूनतम विद्युत खपत गर्ने अन्य घरपरिवारलाई पनि निशुल्क विजुलीबत्तिको ब्यवस्था गरिने छ ।

खानेपानी क्षेत्र ः
 हालसम्म पनि खानेपानीको सुविधा नपुगेका गाउँ र बस्तीहरुमा स्वच्छ खानेपानी आपूर्तिको ब्यवस्था मिलाइनेछ ।
 स्रोत माथि जनताहरुको पहुँचलाई वृद्धि गरी यसको संरक्षणमा जोड दिइनेछ ।
 खानेपानीका सवै मुहान र सार्वजानिक धाराहरुमा सरसफाईको ब्यवस्था मिलाइनेछ ।
 एकघर एक धारा नपुगेका प्रत्येक घरमा शुद्ध पिउने पानीको सुनिश्चितता गरिनेछ । र खानेपानी निशुल्क गर्न आवश्यक नीति बनाएर घरघरमा पानी निशुल्क खानी कार्यक्रम कार्यान्वयन गरिने छ ।

सञ्चार क्षेत्र ः
 प्रत्येक नगर तथा गाउँपालिकाहरुका बस्तीहरुमा वाइफाई तथा इन्टरनेट सेवा सुविधा पु¥याउने ब्यवस्था मिलाइनेछ ।
 जिल्लाका संचार माध्ययमको क्षमता विकास, संरक्षण तथा प्रवद्र्धनको लागि विशेष सहयोगको कार्यक्रम सवै पालिकामा नीति नै बनाएर गरिनेछ ।
 स्थानीय तहको पत्रकारहरुको क्षमता अभिवृद्धि गरी सूचना प्रणालीलाई व्यवस्थित गरिनेछ ।

खेलकुद क्षेत्र ः
 युवाहरुलाई विद्यालयदेखि नै खेलकुद सिकाई कार्यक्रम सञ्चालन गराइनेछ ।
 सबै नगरपालिका र गाउँपालिकामा खेलमैदान र आवश्यकता अनुसार कवर्डहल निर्माण गरिनेछ
 गोरखा नगरपालिकामा भएको खेलकुद मैदानलाई विस्तार गरिनेछ ।
 प्रत्येक पालिकामा रंगशाला अवधारणालाई अगाडि बढाइनेछ ।
 खेलकुद तालिम केन्द्रको सञ्चालन गरिनेछ ।
 वेरोजगार यूवाहरुको लागि व्यवसायिक सिपमुलक तालिमको व्यवस्था गरिने छ ।
 व्यवसाय सुरु गर्ने यूवाहरुको लागि प्रविधिमा अनुदानका साथै सहुलियतपूर्ण कर्जाको लागि सहजिकरण गरिनेछ ।

वन क्षेत्र ः
 निजी जग्गामा नर्सरी तयार गर्न निजी जंगलको उपभोग गर्न उपयुक्त नीति तय गरिनेछ ।
 सामुदायिक वनको अवधारणालाई प्रोत्साहन गरी अगाडि बढाइनेछ ।
 सामुदायिक निजी, तथा पारिवारिक वनको व्यवस्थापन गर्न उचित अवधारणा बनाई अघि बढाइनेछ ।
 सामुदायिक तथा सार्वजनिक वनमा फलपूmल खेतीको विस्तार गरिनेछ ।
 निजी वनलाई अनुदानको व्यवस्था मिलाउन जोड दिइनेछ ।

खनिज क्षेत्र ः
 जिल्लामा पाइने सम्भावना भएका खनिज पदार्थहरुको खोजी तथा अनुसन्धान कार्य अगाडि बढाइनेछ ।
 प्राप्त खनिज सम्पदाको प्रयोग गरी स्थानीयरुपमा उद्योग स्थापनामा जोड दिइनेछ ।

मानवअधिकार ः
– नेपाली कांग्रेस स्थापना कालदेखि नै मानवअधिकार, शान्ति लोकतन्त्रप्रति प्रतिवद्ध रहेकाले मानवअधिकारको संरक्षण संवद्र्धन गर्न आदर्शको रुपमा लिदै अगाडि बढेको छ । मानवअधिकार संरक्षण विकास गर्न प्रतिवद्ध रहने छ । जातीय विभेदको अन्त्य, लैंगिक तथा घरेलु हिंसा नियन्त्रण, अल्पसंख्यक र सीमान्तकृत वर्गको हितमा काम गर्दै विधिको शासनलाई आदर्शको रुपमा कार्यान्वयन गरिने छ । बालअधिकारको संरक्षण गर्दै राजनीतिक उद्देश्यको लागि बालबालिकाहरुको प्रयोग गरिने छैन । बालश्रम निषेध गरी जोखिममा रहेका बालबालिकाहरुको लागि ब्यवस्थापनको कार्य अगाडि बढाइनेछ । महिलाहरुलाई कुनै किसिमको विभेद गरिने छैन ।
– प्रत्येक पालिकामा मानव अधिकार कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

सुशासन र पारदर्शी नेपाली कांग्रेस
-नेपाली कांग्रेसको लोकतन्त्रको अभ्यासलाई आत्मसात गर्नेछ । सामुदायिक संघ, संगठन निर्माण र परिचालन, स्थानीय समस्याको सहभागितामुलक समाधान, पारदर्शी आर्थिक प्रणाली र नागरिक अनुगमनको व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।
– स्थानीय सरकारले वनाउने ऐन, नीति नियम तथा कानून प्रक्रियामा स्थानीय नागरिकहरुको सहभागिताको सुनिश्चितता गरिनेछ ।
– प्रत्येक ३÷३ महिनामा वडा तथा पालिकाले वडावाट सम्पादन सेवा प्रवाहको सामाजिक लेखा परीक्षण र सार्वजनिक सुनुवाईको माध्यमवाट नागरिकलाई सुसूचित गराईनेछ ।
– पालिकाको सूचना प्रणालीलाई व्यवस्थित वनाईने छ । प्रत्येक पालिकाको वेभसाइटलाई व्यवस्थित गरिनेछ ।
– पालिका प्रमुखसंग जनताको सहज पहुँचको व्यवस्था मिलाईनेछ ।
– प्रत्येक वर्ष सपथ ग्रहणको दिनको अवसरमा पालिकाको घोषणपत्र अनुरुप सम्पन्न क्रियाकलापको बारेमा जनतालाई जानकारी गराउने व्यवस्था मिलाईनेछ ।

स्राेत : नेपाली कांग्रेस गोरखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार