• शनिबार, साउन १६ २०८३

पालुङटारमा कांग्रेससंग तालमेल गर्ने बाबुराम प्रयास असफल, एक्लै भिड्ने कांग्रेसकाे घाेषणा


बिहिबार, बैशाख २२ २०७९
690
Shares

गोरखा । पालुङ्टार नगरपालिकामा काँग्रेस र जसपा वीच चुनाबी तालमेल नहुने भएको छ । गृह नगर पालुङटारमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपा वीच तालमेल गराउन लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्ततः असफल भएका छन ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रमा सहमती गरेर पालुङ्टार नगरपालिकामा काँग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका दिपकबाबु कंडेलको मनोनयन फिर्ता गराउन प्रयास भट्टराईले गरेका थिए ।

तर बैशाख १६ गते प्राविधिक कारणले उम्मेदवारी फिर्ताको समयपछि केन्द्रको निर्णय आएपछि कंडेलको उम्मेदवारी कायम भएको थियो । त्यसपछि केन्द्रमा दुई दल नेताहरुले पालुङटारको मेयरमा जसपालाई काँग्रेसले र गोरखा नगरपालिकामा जसपाले सघाउने सहमती गरेका थिए ।

तालमेलका लागि जोड दिएको जसपाले पहिले नै पालुङटारमा उपमेयर पदकी उम्मेदवार नारायणी भट्ट र गोरखा नगरपालिकामा मेयर पदकी प्रत्यासी सञ्जु भट्टलाई पनि फिर्ता बोलाइएको थियो । दुबै दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेका पत्र जिल्ला सर्कुलेसन गरिएको थियो ।

तर स्थानीय स्तरमा दुई दलवीच सहमती नभएपछि अन्ततः एकल प्रतिपस्र्धा गर्ने सहमती जुटेको छ । केन्द्रको सहमती विपरित गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामाा जसपाले माओवादीसँग तालमेल गरेको र पालुङटारको वडा बाँडफाँडमा पनि सहमती नजुटेपछि दुई दल पुनः एकल प्रतिस्पर्धामा जाने निश्कर्षमा पुगेको नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘नेपाली काँग्रेसका पार्टी सभापति एवं आदरणीय प्रधानमन्त्री ज्यूले पालुङटारमा जसपासँग मिल्नु हुन्न भनेर जानीजानी ढिलो पढाउनु भएको हो,’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केन्द्रीय गठबन्धनका आग्रहमा जसपासँग तालमेल गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको बताए ।

‘गठबन्धनका दलहरु वीच मित्रबत प्रतिस्पर्धा गर्ने सहमती हामीले पहिले नै गरेका थियौं,’ उनले भने,‘पछि फेरी जसपासँग गठबन्धन गर्नु भनेर केन्द्रले पत्र पठाएपछि हामी पुनः छलफलमा जुट्यौं । तर सहमती हुन सकेन फेरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको छ ।’

अब काँग्रेसले जिल्लाका ११ वटै स्थानीय तह र ९४ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने उनको भनाई छ । उनले एकल प्रस्पिर्धाका लागि आवश्यक तयारी गर्न कार्यकर्तालाई पत्र मार्फत निर्देशन पनि दिएका छन् ।

‘पालुङटारमा कांग्रेस एकल रूपमा निर्वाचनमा जाने भएकोले कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरूलाई निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन गर्दछु,’ सभापति न्यौपानेले पालुङटारनगर कार्यसमितिलाई पठाएको पत्रमा भनिएको छ ।

यता जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले पनि दुई पार्टी वीचको दाबी नमिल्दा तालमेल सफल हुन नसकेको बताए । ‘उहाँहरुले धेरै वडामा दाबी गर्नु भयो, दुई दलको कुरा मिलेन,’ उनले भने,‘अब एकल प्रतिस्पर्धा गर्ने टुंगोमा पुगेका छौं ।’

एकल उम्मेदवारी दर्ता गरेपनि केन्द्रीय गठबन्धनको जोडबलका कारण पालुङटारको विषय चर्चामा थियो । गठबन्धन गराउने केन्द्रको जोड र स्थानीय नेता कार्यकर्ताको असहमतीका कारण उक्त कुराले पूर्णता पाउन सकेको थिएन । जसपाले तालमेलमा जोड दिदै प्रचारप्रसारलाई पनि निरन्तरता दिदै आएको थियो ।

केन्द्रको पत्राचार, पटक पटक काठमाण्डौ बोलाहट लगायतका कारणले काँग्रेसको चुनाबी कार्यक्रम प्रभावित भएको पनि। अब तिब्रताका साथ घरदैलो र चुनाबी कार्यक्रम सञ्चालन गरिने नगर सभापति बिमल ढकालले बताए । पत्रकार भेटघाटमा नगर समितिको निर्णय, जिल्ला कार्यसमितिको पत्र र चुनाबी तालमेलका लागि यो वीच भएका गतिबिधीका बारेमा पनि जानकारी गराइएको थियो ।

सत्ता साझेदार ५ दलले गठबन्धन गर्ने निर्णय गरेपनि जिल्लाका अधिकाश ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ । आन्तरिक रुपमा भने धेरै ठाउँमा तालमेल भएको सरोकारवालाको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार