
रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उमेदवारका समर्थकबीच मंगलबार झडप भएको छ । उनीहरूबीच खुकुरी हानाहान भएको हो ।

माओवादी केन्द्रका तर्फबाट त्रिवेणी गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदका उमेदवार लक्ष्मण ओली र सोही वडाध्यक्षका स्वतन्त्र उमदेवार सुन्दर ओलीका समर्थकबीच झडप भएको हो । उमेदवार सुन्दर यसअघि माओवादी केन्द्रकै कार्यकर्ता भएको बताइएको छ । उनले ‘बागी’ उमेदवारी दिएको भन्दै लक्ष्मण पक्षका कार्यकर्ता आक्रोशित थिए ।
झडपमा परी दुवै पक्षका ६ कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा जलबहादुर पुन, चेतन दाहाल, यमबहादुर पुन, धर्मेन्द सुनार, टीकाज मल्ल र बलबहादुर पुन रहेका छन् ।
यीमध्ये तीनजना माओवादी र तीनजना स्वतन्त्र पक्षका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिए ।


