
गोरखा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा १५ सय १८ कर्मचारी खटिने भएका छन्।
जिल्लाका ११ वटा स्थानीय तहमा १५ सय १८ कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ । उक्त कर्मचारीको बिवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतवार सार्वजनिक गरेको हो । निर्वाचन आयोगले बैशाख ३० को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न शुरु गरिसकेको छ।


स्थानीय तहको निर्वाचनमा कर्मचारी खटाउँदा करिब ५० प्रतिशत महिलाहरु समेटिएको मूख्य निर्वाचन अधिकृत दीनबन्धु बरालले बताए । चुमनुब्री, धार्चे लगायत दुर्गम पालिकाका कर्मचारी तालिम लिन सदरमुकाम आउनुपर्ने, आउजाउमा धेरै दिन लाग्ने भएकाले छिट्टै कर्मचारी तोकिएको उनले बताए ।

निर्वाचनमा खटिने कर्मचारीलाई २२ देखि २४ गतेसम्म तालिम दिइनेछ । तालिमपछि उनीहरु सम्बन्धित केन्द्रमा तीन दिन अघि खटिनेछन् । सबै मतदान केन्द्रमा ६४ प्रकारमा निर्वाचन सामग्री पठाउने निर्वाचन कार्यालयका नायब सुब्बा रविलाल सुवेदीले बताए ।
साथै चार प्रकारका मतदाता शिक्षा सामग्री पनि पठाइनेछ । मतदान केन्द्रको ढाँचा, अपाङ्गता भएकाको मतदाताका लागि पहुँच पु¥याउने खालको सामग्री, कोभिड १९ को सावधानी पोस्टर, सही तरिकाले मतदान गरौँ भन्ने पोस्टर मतदाता शिक्षा सामग्रीको रुपमा पठाईने निर्वाचन कार्यालयले जनाएको छ ।
दुई लाख १८ हजार पाँच सय ६३ मतदाता रहेको गोरखामा दुई लाख ४१ हजार मतपत्र आएको छ । मतपत्रको क्रमसंख्या, मतपत्र रुजु गर्ने काम अहिले भईरहेको मूख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । गोरखामा ४३ लिटरको चार सय ४३ र ५० लिटरको चार सय छ वटा गरी आठ सय ४९ मत पेटिका आईपुगेको छ ।


