गोरखा । गोरखाकाे पालुङटार नगरपालिकाकाे मेयर पदमा केन्द्रले हस्तक्षेप गरेकाे भन्दै नेपाली काँग्रेसबाट उम्मेदवार बनेका १० वटै वडाका उम्मेदवारले सामुहिक राजिनामा दिएका छन् ।
काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका ई दिपकबाबु कडेंललाई उम्मेदवारी फिर्ता गराउन केन्द्रले दवाव सृजना गरेकाे भन्दै १० वटा वडाबाट वडाध्यक्ष, सदस्य पदमा उम्मेदवार बनेका अधिकांशले सामुहिक राजिनामा दिएकाे स्राेतले बताएकाे छ । उनिहरुले राजिनामा पत्रमा हस्ताक्षर गरेर पार्टीकाे नगर समितीलाई बुझाएका छन् ।

जनता समाजवादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराइकाे दवावमा काँग्रेस सभापतिले स्थानीय जनता र कार्यकर्ताकाे भावना र मर्म विपरित निर्णय लिएकाे भन्दै आफुहरुले राजिनामा दिएकाे एक उम्मेदवारले सिभिलखबरलाई बताए ।
‘रुखमा भाेट हाल्नबाट केन्द्रिय सभापति नै राेक्दैछन्’ ति उम्मेदवारले भने ‘मेयर पदमा रुखमा भाेट हाल्न नपाए हामी १० वटै वडामा चुनाव लड्दैनाै ।’
यता मेयर पदका उम्मेदवार कडेंलले समेत उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताएका छन् । काँग्रेसले मेयर पदमा चुनाव लड्न आफुलाई रुख चिन्ह नै प्रदान गरेकाे भन्दै आफ्नाे अडानबाट पछि नहट्ने उनले बताएका छन् ।