
गोरखा । नेपाली काँग्रेस गोरखाले आफ्ना जिल्ला कार्यसमितिका सदस्य विश्वदेव श्रेष्ठमाथि भएको कुटपिटको घटनाप्रति भत्सर्ना गरेकाे छ ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख १२ गते बैंकराेड गोरखामा जिल्ला सदस्य श्रेष्ठमाथि भएकाे आक्रमणकाे घटनाप्रति खेद प्रकट गर्दै भत्सर्ना गरेकाे हाे ।



सभापति न्याैपानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ‘केही उच्छृङ्खल ब्यक्तिहरुबाट सांघातिक हमला प्रति नेपाली काँग्रेस गोरखाकाे गम्भिर ध्यानाकर्षण भएकाे छ ।’
विज्ञप्ती मार्फत पार्टिले नेता श्रेष्ठको स्वास्थ्यलाभको कामना समेत गरेकाे छ ।

घटना गोरखा नगरपालिकाकाे मेयरकाे उम्मेदवारका बिषयलाई लिएर भएकाे थियाे । मनाेनयन दर्ता गराउने अन्तिम दिन नेपाली काँग्रेस गण्डकी प्रदेश समितीले गोरखा नगरपालिकाको मेयरकाे उम्मेदवार बन्न श्रेष्ठलाई टिकट दिएको थियो ।
श्रेष्ठलाई टिकट दिएकाे भन्दै कांग्रेसकै असन्तुष्ट पक्षले उनिमाथी हातपात गरेका थिए । विवाद बढेसंगै प्रदेशको निर्णय उल्टाउदै पार्टीकाे केन्द्रीय समितिले निवर्तमान मेयर समेत रहेका राजनराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


बागी उम्मेदवारले मनाेनयन फिर्ता नलिए कारबाही
यस्तै काँग्रेस सभापति न्यौपानेले बुधबारै अर्को प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तह र वडाहरुमा बागी उम्मेद्वारहरुलाई बैशाख १६ गतेभित्र उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका छन् ।
तोकिएको मितिमा उम्मेद्वारी फिर्ता नलिएमा पार्टीको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्कालै निलम्बन गरी कारवाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बागी उम्मेदवारसंगै उनिहरलाई सहयाेग गर्नेलाई समेत बागी सरह नै कारबाही गरिने विज्ञप्तीमा बताइएकाे छ ।


