गोरखा । गोरखा नगरपालिकामा ३ सय ७३ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्य पदका लागि साे संख्याले उम्मेदवारी दिएका हुन् । जसमा नगरप्रमुख पदमा मात्रै ९ जनाले मनाेनयन गराएकाे सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले सिभिलखबरलाई बताए ।



त्यस्तै उपप्रमुखमा ८ जनाले उम्मेदवारी दिएका छन् भने बाँकीले वडाध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य पदमा मनाेनयन गराएकाे केसीले जानकारी दिए । आइतबारदेखि सुरु भएकाे मनाेनयन साेमबार राती १२ बजेसम्म चलेकाे थियाे ।
१४ वडा रहेकाे गोरखा नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा, मंगाेल नेशनल अर्गनाइजेशन लगायतका दल र स्वतन्त्रहरुले नगरप्रमुख सहितकाे पदमा उम्मेदवारी गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गोरखाले जनाएकाे छ ।
यसअघि २०७४ सालमा भएकाे निर्वाचनमा गोरखा नगरपालिकाकाे मेयर, उपमेयरसहित ८ वटा वडा नेपाली काँग्रेस, ३ वडा नेकपा माओवादी र ३ वडा नेकपा एमालले जितेकाे थियाे ।


