
गोरखा । जनता समाजवादी पार्टी नआएपछि गोरखामा सत्ता गठबन्धनकाे बैठक स्थगित भएकाे छ । शुक्रबार बिहान ९ बजेदेखि बैठक बस्न नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका नेताहरु बैठक स्थल हाेटल गार्डेनमा भेला भएपनि जसपाका नेताहरु नआएपछि बैठक स्थगित भएकाे एक नेताले बताए ।



गोरखामा यसअघि ६ पटकसम्म बैठक बस्दा समेत पालिका भागबन्डामा सहमती नजुटेपछि गठबन्धनकाे बैठक आज बिहानलाई बाेलाइएकाे थियाे ।
बैठकका लागि नेपाली काँग्रेसबाट गोरखा सभापति नन्दप्रसाद न्याैपानेसहित उपसभापति इमानसिं बस्न्यात र सचिव किशाेरजंग थापा सहभागी थिए भने माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष लेखबहादुर थापा मगर र प्रदेश सदस्य लाेकप्रसाद बञ्जरा त्यस्तै एकिकृत समाजवादीबाट इन्चार्ज जुद्ध विलास भण्डारी, सहइन्चार्ज सानुमाया बस्नेत र अध्यक्ष यादव बस्नेत बैठक स्थलमा पुगेका थिए ।



तर निर्धारित समयभन्दा करिब २ घण्टा कुर्दा समेत जसपाका नेताहरु बैठकमा नआएपछि बिहानकाे बैठक स्थगित भएकाे बताइएकाे छ । यता जसपाका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले भने पार्टीकाे आन्तरिक बैठक रहेकाले गठबन्धनकाे बैठकमा सहभागी हुन नसकेकाे बताएका छन् ।
‘गठबन्धनका सबैले हिजाे बैठक बस्ने भनेका थिए, हिजाेकाे बैठक आजलाई सारिएकाे रहेछ’ उनले सिभिलखबरलाई भने ‘आज हाम्राे पार्टीकाे बैठक बाेलाएका थियाे, त्यसैले सहभागी भएनाै ।’

गोरखामा सिट बाँडफाडलाई लिएर गठबन्धनमा सकस हुदै आएकाे छ । केन्द्रकाे परिपत्र अनुसार २०७४ मा जितेकाे स्थानमा छाेड्न नपर्ने भन्दै काँग्रेसले ९ वटा पालिका दावी गर्दै आएकाे छ भने माओवादीले ५ र जसपाले ३ पालिकामा आफ्नाे दावी प्रस्तुत गरेका छन् ।
जसका कारण गोरखामा गठबन्धन हुने वा नहुने भन्ने बिषय अन्याेल बन्दै आएकाे छ । यता बजारमा भने गोरखामा गठबन्धन फुटकाे संघारमा रहेकाे हल्ला चल्न थालिसकेकाे छ ।