
पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा महानगरपालिकाको प्रमुख पदका लागि उमेदवारी दिएका छन् । उनले महानगरको प्रमुख बन्न पार्टीमा आफ्नो उमेदवारी प्रस्तुत गरेका हुन् ।
कांग्रेस पोखरा महानगर समितिले शनिबारदेखि आइतबार अपराह्न ४ बजेसम्म महानगर प्रमुखमा इच्छुकहरूलाई उमेदवारी दर्ता गराउन निर्देशन जारी गरेको थियो ।
सोही निर्देशनानुसार हालसम्म १३ जनाले नगरप्रमुखका लागि पार्टीभित्र उमेदवारी दर्ता गराएका छन् । मन्त्री थापाले १२औँ नम्बरमा उमेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार प्रमुखका लागि सुदीपमोहन भट्टराई, डा। परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्यले उम्मेदवारी दिएका छन । यस्तै, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्च्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा र बाबुराम गिरीले आवेलन दिएको थापाले बताए ।
उमेदवारी दर्तापश्चात् मन्त्री थापाले कुनै पनि हालतमा आफूहरूले जित्नुपर्ने भएकाले अरू व्यक्तिले टिकट पाएको अवस्थामा पनि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । पोखरा महानगरको उपप्रमुखका लागि कांग्रेसभित्र पाँचजनाले आवेदन दर्ता गराएका छन् ।
कांग्रेसले आवेदन दर्ताका लागि २५ हजार रुपैयाँ स्वेच्छिक शुल्क समेत लिएको छ । आवेदन दिनेहरूमध्येबाट पार्टीले प्रमुख र उपप्रमुखका उमेदवार चयन गर्नेछ ।
