
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीच अहिले अभ्यासमा रहेको तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।
नयाँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै स्थानीय चुनावको सम्मुखमा स्थानीय मुद्दा र गतिविधिमाथि बहस हुनुपर्नेमा त्यो भन्दा धेरै गठबन्धनको बहस भएकोमा दुःख व्यक्त गरे । उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए ।

गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ ।महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।
‘अहिले जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण चरण हो,’ उनले भने, ‘राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने होइन । तर हामीले जुन खालको तालमेलको राजनीतिक संस्कृतितर्फ जादैछौँ, यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’ उनले चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताए ।
