
गोरखा। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको घोषणा गरेसँगै गोरखामा निर्वाचन मतदान स्थलहरुको अनुगमन सुरु भएको छ। सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको टोलीले अनुगमन सुरु गरेको हो।
‘सुरक्षा निकायका प्रमुखसहित हामीले मतदान स्थलको स्थलगत अनुगमन गरिरहेका छौँ’, जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइरालाले भने । विद्यालयहरुमा मतदान स्थल तय गरिएकाले भौतिक संरचना राम्रो रहेको तर कतिपय ठाउँमा बाटोको असुविधा भएको, खानेपानीको समस्या रहेको उनले बताए ।



खानेपानीको समस्या भएका ठाउँमा मतदानको दिन ब्यवस्थापन गर्ने विषयमा स्थानीयसँग छलफल समेत भएको उनले बताए । सबै मतदान स्थलम पुगेर निरीक्षण गर्न समय अभाव हुने हुँदा केही ठाउँमा अनुगमन गरिरहेको उनले बताए । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश दीनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्टिूय अनुसन्धानलगायतको टोली अनुगमनमा सरिक थिए ।
आसन्न निर्वाचनका लागि गोरखामा दुई सय १५ मतदान स्थल र तीन सय ११ मतदानकेन्द्र रहने कार्यालयले जनाएको छ । ‘निर्वाचनका लागि चाहिने सामग्री खरिदको काम पनि चलिरहेको छ’, कार्यालय प्रमुख कोईरालाले भने, ‘पुराना सामग्री ब्यवस्थापन पनि गरिरहेका छौँ ।’
निर्वाचनमा परिचालित हुने कर्मचारीको बिवरणलाई अन्तिम रुप दिने काम पनि भईरहेको उनले बताए ।
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले उम्मेद्वार चयन प्रक्रिया सुरु गरिसकेका छन् । निर्वाचन कार्यालयले भने मतदान शिक्षाको कार्यक्रम अझै सुरु गरेको छैन । मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन र आवश्यक सामग्री नआउँदा सुरु नभएको कार्यालय प्रमुख कोइरालाले बताए ।

