धनुषा। सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले गरेको प्रदेश २ को नामाकरणको प्रस्ताव पनि अस्वीकृत भएको छ।
सत्तारुढ दलबाट सांसद शैलेन्द्रकुमार यादवले प्रस्तुत गरेको ‘मधेश’ प्रदेशको प्रस्तावमा ‘क्रस भोटिङ’ नहुँदा प्रस्ताव पारित हुन सकेन।
प्रस्तावको पक्षमा ६० मत र विपक्षमा ४६ मत परेको बताइएकाे छ ।
१०७ सदस्य रहेको प्रदेश सभामा सबै सदस्य मतदानमा सहभागी थिए।
क्रस भोटिङ हुने सम्भावना भएपनि अन्तिममा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले आफ्ना सांसदलाई विपक्षमा भोटिङ गर्न ह्वीप जारी गरेपछि आवश्यक दुई तिहाइ (७२ मत) पुग्न सकेन।
आजै यसअघि पेश भएका तीन वटा प्रस्ताव पनि अस्वीकृत भएका थिए।
नेकपाको तर्फबाट सांसद रामकुमार यादवले प्रस्ताव गरेको जानकी प्रदेशको प्रस्तावमा ३७ मत परेको थियो भने विपक्षमा ७० मत परेको थियो।
नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेको मिथिला भाेजपुरा प्रदेशको प्रस्तावको पक्षमा २८ र विपक्षमा ७९ मत परेको थियो।
यस्तै, कांग्रेसकै तर्फबाट सांसद राजेश्वरप्रसाद साहले प्रस्तुत गरेको मध्ये प्रदेशको प्रस्तावको पक्षमा ४२ मत परेको थियो भने विपक्षमा ६५ मत परेको थियो।
प्रदेशको नामाकरणका लागि पेश गरिएका चारवटै प्रस्ताव अस्वीकृत भएसँगै प्रदेशको नामाकरणमा अन्योल थपिएको छ।