• शनिबार, साउन १६ २०८३

पालिका प्रमुख र वडाध्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गराउन गोरखामा महिला संघको माग


शनिबार, चैत्र २६ २०७८
1.5K
Shares

गोरखा । आगामी स्थानीय तहको निर्वाचनमा गोरखाका ११ वटै स्थानीय तहमा ३३ प्रतिशत महिला उम्मेदवार गराउन नेपाल महिला संघ गोरखाले माग गरेको छ ।

२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा पालिका प्रमुख र ९४ वटा वडामा वडाध्यक्ष पदमा ३३ प्रतिशत उम्मेदवार महिला हुनुपर्ने माग संघले अघि सारेको हो ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति गोरखाकी अध्यक्ष मनकुमारी गुरुङले नेपाली काँग्रेसका गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाउदै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म ३३ प्रतिशत महिला उम्मेदवार बनाउन माग गरेकी हुन् ।

संघको पालिका, प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आगामी निर्वाचनमा प्रमुख कार्यकारी पदमा महिला उम्मेदवार सुनिश्चित गराउन पार्टीको जिल्ला समितिसंग आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै संघले गठबन्धनका नाममा महिलाको अधिकार कटौती हुने अवस्था आउन नहुने तर्फ सचेत रहन समेत पार्टी जिल्ला सभापति न्यौपानेलाई अनुरोध गरेको छ ।

यसैगरी संघको संयुक्त बैठकले निर्वाचन आयोगले प्रमुख/उपप्रमुख पदमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने ब्यवस्थाको बुदा नम्बर ६ लागु लागु गराउन समेत माग गरेको संघकी जिल्ला अध्यक्ष गुरुङले बताइन् ।

ज्ञापनपत्र बुझ्दै पार्टीका जिल्ला सभापति न्यौपानेले समावेशी सिद्धान्त लागु गर्न आफु प्रतिवद्ध रहेको र आगामी निर्वाचनमा महिलाको अधिकार कटौती नहुने गरी उम्मेदवार चयन हुनेमा विश्वस्त रहन संघका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझाउन संघको जिल्ला समिति, पालिका समिती तथा महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । संघले साे ज्ञापन पत्र नेपाली कांग्रेस गण्डकी प्रदेश समितिलाई समेत बुझाउने तयारी रहेकाे बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार