गोरखा । प्रथम शहीद लखन थापाप्रति केपी ओलीले गलत व्याख्या गरेको भन्दै नेपाल मगर संघ गोरखाको आपत्ति जनाएकाे छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लखन थापाकाे अपमान गर्न खाेजेकाे भन्दै संघ गोरखाले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको हाे ।



संघका जिल्ला अध्यक्ष विष्णु राना मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा ओली र विश्वभक्त दुलाल(आहुती) लगायत केही व्यक्तिहरुले ऐतिहासिक तथ्य प्रमाणहरुको गलत व्याख्या गरी प्रथम शहीद थापाका बारेमा भ्रामक अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएकाे छ ।
ऐतिहासिक खोज अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणसहित नेपाल सरकारले गठन गरेको उच्चस्तरीय समितिद्वारा सिफारिस गरेका शहीद सम्बन्धी मापदण्डका आधारमा लखन थापालाई नेपालको प्रथम शहीद भनी घोषणा गरिएपनि ओलीले गलत प्रचार गरी भ्रम ५र्न खाेजिएकाे विज्ञप्तिमा उल्लेख छ ।



तत्कालिन सँस्कृति मन्त्री कृपासुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रीपरिषदले वि.सं. २०७२ असोज ३ गते शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको बताइएकाे छ ।
‘निरंकुश जहाँनियाँ राणा शासनको विरुद्धमा पहिलो पटक संगठित जनविद्रोहको नेतृत्व गर्ने लखन थापा मगर र उनका सहयोद्धाहरुलाई सम्मान गर्नुपर्छ । उनीहरुप्रति भ्रामक अभिव्यक्ति दिने अधिकार कसैले छैन’, विज्ञप्तिमा भनिएको छ ।

निजी स्वार्थका लागि ज्यान गुमाएका र शहीद सम्बन्धी मापदण्ड भित्र नपर्ने पात्रलाई प्रथम शहीदको रुपमा स्थापित गर्न खोजिएको उनको आरोप छ । आगामि निर्वाचनका लागि चुनावी अस्त्रको रुपमा प्रयोग गर्न गरिएको कोसिसप्रति मगर संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
निरंकुश जहानियाँ राणाशासनको विरुद्धमा पहिलो पटक संगठित जनविद्रोहको नेतृत्व गरेका कारण प्रथम शहीद लखन थापा सहित उनका सहयोद्धाहरुलाई वि.सं. १९३३ फागुन २ गते तत्कालिन शासक जङ्गबहादुरको आदेशद्वारा गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं . ७, बुंकोट काहुले भङ्गारमा उनकै घर अगाडिको खिर्राको रुखमा निमर्मतापूर्वक मृत्युदण्ड दिईएको इतिहासका पानामा उल्लेख गरिएको संघले जनाएकाे छ ।
