
गोरखा। गोरखाको दुई गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ। शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।
जिल्लाको दुई गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
भौगोलिक हिसावले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भएकाले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गरेर अघि बढ्ने निर्णयका साथ सम्बन्ध स्थापना भएको उनको भनाइ छ ।



“दुवै गाउँ कार्यपालिकाको संयुक्त बैठक बसेर विभिन्न ११ बुदेँ सहमति सर्वसम्मत पारित गरेर दुवै पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरेका छौँ, उाले भो, “यसबाट अब एउटा गाउँपालिकाले गरेका राम्रा कामहरुको रचनात्मक सिको अर्को गाउँपालिकाले गर्ने नयाँ अवसर प्राप्त भएको छ ।”
अध्यक्ष थापामगरले दुवै गाउँपालिकाको सिमानामा पर्ने रणनीतिक सडक, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि मिलेर सङ्घ प्रदेशलाई घचघच्याउने सहमति भएको जानकारी दिए । “पालिकास्तरबाट विनियोजन गर्नसक्ने बजेटका सवालमा साँध सिमानामा पर्ने सडक निर्माणका लागी दुवै पालिकाले मिलेर बजेट विनियोजन गर्ने वा थप बजेटको आवश्यकता परेमा केन्द्र र प्रदेशमा संयुक्त समन्वय गर्ने भन्ने बुझाइ बनेको छ”,
उनले भने, “यो बुझाइले दुवै पालिकालाई लाभ हुनेछ ।” त्यस्तै दुई पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका एक आपसमा प्रचारप्रसार गर्ने तथा आन्तरिक पर्यटक प्रवद्र्धनमा मिलेर काम गर्ने सहमतिसमेत भएको अध्यक्ष थापामगरले जानकारी दिए ।



भगिनी सम्बन्धले एक गाउँपालिकाले गरेका रचनात्मक कार्यको सिकाइ अर्को गाउँपालिकाले गर्ने गरी कार्यको थालनी भएको उनको भनाइ छ । सहमति पत्रमा हस्ताक्षर गर्दै गण्डकीका अध्यक्ष होमबहादुर रानाले विकासमा राजनीति गर्नुहुँदैन भन्ने सिकाइ शहीद लखन गाउँपालिकाबाट सिक्नुपर्ने बताए ।
“शहीद लखन गाउँपालिकाले विकासमा राजनीति गर्नुहुँदैन भन्ने उद्देश्यका साथ जुन सफलता हासिल गर्नुभएको छ त्यो सबैले हामीले पनि मनन गरेर अघि बढ्नुपर्छ”, उनले भने, “गण्डकी गाउँपालिकाले पनि शहीद लखन गाउँपालिकाबाट सिक्नुपर्नेछ ।” दुवै गाउँपालिकाको संयुक्त कार्यपालिकाको बैठकमा दुवै गाउँपालिका प्रशासकिय प्रमुख तथा सहभागी कार्यपालिका सदस्यले आ–आफ्नो पालिकाले गर्दै गएका रचनात्मक कामको बारेमा जानकारी गराएका थिए ।

