गोरखा । पालुंटार नगरपालिकाकाे मेयर उठ्न सक्ने बताएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईका बारे पुन: नयाँ वहस सुरु भएकाे छ ।
उमेरका कारण राष्ट्रिय राजनीतीबाट निष्कृय हुने बताउदै आएका भट्टराईले आफ्नाे नगर पालुङ्गटारबाट आगामी स्थानीय निर्वाचनमा मेयर उठ्न सक्ने बताएपछि केहिदिनदेखि समाजिक सञ्जालदेखि चिया पसलसम्म उनका बारे सकरात्मक र नकरात्मक टिकाटिप्पणी हुदै आएकाे छ ।

बाैद्धिक नेताका रुपमा स्थापित उनी मेयरमा प्रतिष्प्रधा गर्न गाउँ फर्किए, चुनावी नतिजा र विकासकाे गति कस्ताे हाेला भन्ने चर्चा चलिरहेका बेला पालुङ्गटार नगरपालिकाकै मेयर छान्न उनकै पार्टी जनता समाजवादी पार्टीलाई भने सकस परेकाे छ ।
पालुङ्टार नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाउने बिषयमा पालुङ्गटारमै बसेकाे पार्टीकाे बैठकमा हुलहुज्जत र बैठक स्थल नै ताेडफोड भएपछि पार्टीकाे आन्तरिक किचलाे बाहिर आएकाे हाे । बाबुराम भट्टराईले मेयरमा आकांक्षा देखाइरहेका बेला करिब दर्जन नेताले समेत साेही पदमा दावी गरेपछि पालुङ्गटारमा विवाद बढेकाे प्रष्ट हुन्छ ।

पार्टीले आकांक्षीहरु धेरै भएपछि एकजनाकाे नाममा सहमति जुटाउन गएराती बसेको बैठकमा कार्यकर्ताले ढुंगामुढा र बैठकस्थलमा तोडफोड गरी एक समुहले बाहिरबाट हस्ताक्षेप गरेका थिए ।
पिस हेभन पार्टी प्यालेसमा बैठक चलिरहेकाे समयमा मेयरका आकांक्षी समेत रहेका प्रेम गुरुङ्गकाे नेतृत्वमा आएकाे समुहले बैठकमा हुलहुज्जत गरेकाे प्रहरी स्राेत बताउछ ।



मेयर पदमा उम्मेदवार कसलाई बनाउने बिषयमा छलफल भइरहदा उच्छृङ्खल समूहले बैठक स्थल बाहिर मादक पदार्थ सेवन गरी उफ्रिने, कराउने, हुलहुज्जत गरेकाे जसपाका नगर अध्यक्ष रमेश पोखरेलले समेत स्विकारे ।
बैठक भइरहेको हलबाहिरबाट ताला समेत लगाइदिएकाे र राती अबेर भएपछि ढुंगामुढा गरेर झ्यालको सीसा तोडफोड गर्दै कुटपिटको प्रयास पनि भएकाे अध्यक्ष पाेखरेलले बताए । बैठकमा लफडा भएपछि बैठक स्थगित गरिएकाे उनकाे भनाई छ ।
डा बाबुराम भट्टराईले आकांक्षा ब्यक्त गरेकाे मेयरका लागि पालुंटारमा अन्य नौ जनाले दावी प्रस्तुत गरेका छन् । जसमा अमृतबहादुर आचार्य, अशोक देवकोटा, रमेश पोखरेल, लालबहादुर बिक, प्रेम गुरुङ, दीपक पाण्डे, शान्ता न्यौपाने, शम्भु कौडाल र पिटरकुमार श्रेष्ठ आकांक्षी रहेको पार्टीले जनाएको छ ।


