


गोरखा । करिब पाँच कराेड लगानीमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय निर्माण सम्पन्न भएकाे छ ।
२०७५ साल फागुन १४ गते जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलकाे स्मृती दिवशका अवसर पारेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबाट सिलान्यास भएकाे भवन ३ बर्षमा निर्माण सम्पन्न भएकाे हाे ।
४ करोड ९५ लाख ९० हजार रुपैयाँ लगानीमा निर्माण भएको भवनकाे शनिबार एक कार्यक्रमका विच पुन: अध्यक्ष दाहालबाटै उद्घाटन गरिएकाे छ ।



३९ रोपनी क्षेत्रफल रहेकाे परिसरमा २१ काेठे सुविधासम्पन्न भवन निर्माण भएकाे हाे । जसमा स्थानीय पूर्वाधार बिकासको दुई करोड १५ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख, जिल्ला समन्वय समितिको एक करोड १० लाख र बारपाक सुलिकोट गाउँपालिकाको एक करोड २० लाख रुपैयाँ भवन निर्माणमा लगानी भएको अध्यक्ष विष्णु प्रसाद भट्टले बताए ।
नवकान्तिपुर कन्ट्रक्शनले उक्त भवन निर्धारित समयसीमाभित्रै निर्माण गरेको उनले बताए । भवन उद्घाटन गर्न अध्यक्ष दाहाल माउण्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए ।
यस अघि प्रिफ्याब भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब सुविधा सम्पन्न भवनबाट सेवा सुचारु गर्ने बताएकाे छ ।


