गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन माओवादीका लागि लडाँई भएको बताएका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन अरु पार्टीका लागि चुनाव भएपनि माओवादीका लागि लडाँईका रुपमा रहेको बताएका हुन् ।
माओवादी केन्द्रले जनताको घरघरमा गएर माफी माग्नु पर्ने बेला आएको भन्दै उनले नेता तथा कार्यकर्तालाई अबको एक महिना गाउँगाउँ जान निर्देशन समेत दिए ।
पाँच दलिय गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागिपरेको भन्दै खतरा नटरेको समेत उनले बताए । संविधान विघटन गर्ने र देशमा अराजकता निम्त्याउने डिजाइन भइरहेको आशंका ब्यक्त गर्दै उनले फेरी एमाले र काँग्रेसको गठबन्धन बनाएर माओवादीलाई देशैभरीबाट बढार्र्ने खतरा अझै नटरेको अध्यक्ष प्रचण्डले बताए ।
नेकपा माओवादी केन्द्र हतियाररहित ‘रिभुलुसन’ लडाई लड्ने तयारीमा रहेको भन्दै उनले तयार रहन कार्यकर्तालाई आह्वान समेत गरे ।
एक बर्षअघि संसद विघटन गरेर देशमा निरंकुशतातिर लैजानेहरु नै आज देशमा अराजकता निम्त्याउन सल्बलाएको बताउदै उनले यसमा विदेशी शक्ति समेत मिलेको आरोप लगाए ।
३ बर्षअघि दाहालले नै शिलान्याश गरेको वारपाक सुलिकोट गाउँपालिकाको भवन ४ करोड ९५ लाख ९० हजार रुपैयामा निर्माण सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, हितरा पाण्डे, हरिराज अधिकारी लगायतले बोलेका थिए ।