


गोरखा । आगामी वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले देशभरबाट ७५ हजार म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ ।
सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय गोरखामा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा एकहप्तासम्म युवायुवतीको भिड मात्रै लागेन, आवेदन दिन तछाड मछाड नै भयो ।
गण्डकी प्रदेशमै भौगोलिक रुपमा सबैभन्दा ठूलो जिल्लाका रुपमा रहेको गोरखामा १ हजार ८ सय ६८ जना म्यादी प्रहरी माग भएको छ । प्रदेशभर १० हजार ६ सय २५ म्यादी माग भएपनि यो संख्या प्रदेशमा रहेका ११ जिल्लामध्ये सबैभन्दा बढी हो ।

केन्द्रिय राजनीतिका हाइप्रोफाइलहरु डा बाबुबराम भट्टराई, नारायणकाजी श्रेष्ठ, सुरेन्द्रराज पाण्डे लगायतका नेताहरुको गृह जिल्ला भएको र भौगोलिक रुपमा समेत विकट रहेका कारण प्रदेशभरका जिल्लामा सबैभन्दा बढी म्यादी प्रहरी गोरखाका लागि माग गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
दुई निर्वाचन क्षेत्र र ११ स्थानीय तह रहेको गोरखामा यसअघि भएको अन्तिम निर्वाचन २०७४ सालमा २८२ मतदान केन्द्र र २१५ मतदान स्थल कायम थियो ।



तर म्यादी प्रहरीमा आवेदन दिन आउनेका भने आफ्नै कथा र ब्यथा छन् । ४० दिने सरकारी जागिर खानु तन्नरीका लागि रहर नभई बाध्यता बनेको छ । उच्च शिक्षा हासिल गरेरपनि रोजगारी नपाएर भौतारिएकाहरुलाई म्यादी प्रहरी पछिल्लो समय आकर्षण बनेको हो ।
गोरखाको काशीगाउँबाट पैदल हिडेर सदरमुकाम आइपुगेका छिरिङ गुरुङ उमेरले २२ पुगे । १२ कक्षा पास गरेपनि जागिरमा कसैले नपत्याएपछि उनि अहिले म्यादीमा आवेदन दिन आइपुगेका छन् ।
जागिरको त परको कुरा गाउँमा हुने साना तिना ठेक्कापट्टा समेत नेताकै आसेपासेहरुको रजगजले वाक्क भएका उनि बिदेशिने तयारीमा थिए, तर म्यादीको जागिर खुलेपछि केहि दिन भनेपनि सरकारी जागिर खाने दौडमा उनले प्रहरी कार्यालयमा आवेदन दिएका छन् ।
‘काम खोज्दै हिडेको २ बर्ष भयो, तर सबै ठाउँमा आफ्नो मान्छे चाहिने रहेछ, हाम्रो कोहि छैन’ उनले सिभिलखबरसंग भने ‘जागिर दिने त परको कुरा, गाउँका उपभोक्ता समितिमा बसेर पनि काम गर्न दिदैनन्, के गर्नु, हामीलाई न नेताले चिन्छन न हाकिमले ।’

चर्काे घाम सहँदै हातमा रेकर्ड फाइल बाेकेर प्रहरी कार्यालय परिसरकाे लाइनमा भेटिएका बिरबहादुर कुमालको पनि पिडा उस्तै छ । उमेरले ४० पुगेका उनि बिभिन्न देशमा रोजगारी गरेर फर्किसकेका छन् । बैदेशिक रोजगारीमा समेत सोचे अनुसार नभएपछि केहि बर्षदेखि गाउँमै बेरोजगार बसेका उनी रोजगारी खोज्दै जिल्ला प्रहरी पुगे र आवेदन दिएका छन् ।
‘विदेशपनि गैयो तर सोचे जस्तो कहाँ हुने जिन्दगी’ उनले भने ‘३ बर्ष भयो गाउँमै बसेको, यस्से केहि महिना खर्च जुट्छ कि भनेर म्यादीमा भर्ना हुन आको ।’



काशगाउँका छिरिङ जस्तै मान्बुका सिलन गुरुङपनि १२ कक्षा पास गरेर बसेका छन् । सानो तिनो जागिर खाएर परिवार पाल्ने रहरसंगै शैक्षिक प्रमाणपत्र बोकेर बिभिन्न कार्यालय र संघसंस्था पुगेपनि कहि कतै नपाएपछि अन्तत उनि म्यादीका लागि आवेदन दिन सदरमुकाम झरेका छन् ।

केहि दिन भएपनि सरकारी जागिर खाएर परिवारको खर्च जोहो गर्ने सपना बोकेका उनको म्यादीमा समेत नाम निस्कने पक्का छैन । आफुले जस्तै हजारौं युवाले म्यादी प्रहरीमा आवेदन भरिरहेकाले थाेरै समयको रोजगारीका लागि पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भने छ ।
चैत ६ गतेदेखि ११ गतेसम्म ६ दिनमा गोरखामा झण्डै ३ हजार ६ सयले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । यो संख्या आवस्यक भन्दा दोब्बर हो । यसको मुख्य कारण बेरोजगारी र आर्थिक संकट नै हो ।
थोरै समय भएपनि काम र दाम पाइने विश्वासले म्यादी प्रहरीमा आवेदन भर्नेहरुको भिडले देशको बेरोजगारीको प्रष्ट चित्र देखाउछ । यसले मुलुकमा बेरोजगारीको डरलाग्दो दृश्य पनि देखाइरहेको छ ।


