• शनिबार, साउन १६ २०८३

गण्डकीमा सार्वजनिक सुनुवाई, जनप्रतिनिधीले बुढीगण्डकी पिडितलाई वेवास्ता गरेकाे गुनासाे


शुक्रबार, चैत्र ११ २०७८
720
Shares

गोरखा । गण्डकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोग र नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा बिहिबार सार्वजनिक सुनुवाई भएको हो ।

गाउँपालिका अध्यक्ष होम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का भरत कुमार श्रेष्ठले विकासका नाममा वनजंगलको विनास गर्न नहुने भन्दै पालिकालाई त्यसतर्फ सचेत हुन आग्रह गरेका छन् ।

बूढीगण्डकी जलविधुत आयोजनाको काम अलपत्र पर्दा समेत स्थानीय, प्रदेश र संघिय जनप्रतिनिधीहरु मुकदर्शक मात्रै बनेकोप्रति उनले आक्रोश पोखे । साथै साे परियाेजनाका पिडितहरुकाे समस्यामा तिनै तहका जनप्रतिनिधीहरु उदासिन रहेकाे समेत गुनासाे गरे ।

त्यस्तै स्थानीय शिक्षक प्रकाश रेग्मीले गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासमा प्रयाप्त बजेट विनियोजन गर्न नसक्नु दुखद रहेको बताए । साथै उनले आवस्यकता अनुसार विधालय भवनहरु निर्माण हुन नसक्नुमा स्थानीय सरकार दोषी रहेको आरोप समेत लगाए ।

कार्यक्रममा अर्का शिक्षक नरेन्द्रराज तिमिल्सिनाले शिक्षा ऐन निर्माण भएपनि प्रभावकारी कार्यान्वयन नभएको जिकिर गरे । साथै उनले सामुदायिक विधालयहरुमा विधार्थीको संख्या कम भएर मर्जको अवस्थामा पुग्नु दुखद भएको समेत बताए ।

त्यस्तै शक्ति सुनारले भुम्लिचोकमा धेरै बर्षअघि सडक जोडिएपनि वडा नम्बर ६ को कार्यालयसम्म किन सडक पुग्न सकेन भन्दै प्रश्न गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ७ निवासी आशिष रेग्मीले अघिल्लो आर्थिक बर्षमा सम्पन्न भएको सडक निर्माणको भुक्तानी अर्को आर्थिक बर्ष सकिन लाग्दा समेत नहुनु कर्मचारीको गैरजिम्मेवारीपूर्ण काम भएको भएको भन्दै आलोचना गरे ।

साथै उनले निर्माण ब्यवसायी मर्कामा परेकाले तत्काल भुक्तानीको ब्यवस्था मिलाउन समेत माग गरे ।

त्यस्तै मिरा रेग्मीले महिला उद्यमशिलता र सिप विकासमा पालिकाले बिनियोजन गरेको बजेटका बारेमा चासो ब्यक्त गरिन् । त्यस्तै स्थानीय अम्बिका पौडेलले योजनाहरुको प्रभावकारी अनुगमन नहुनुले बनेका संरचनाहरुको सुरक्षामा प्रश्नचिन्ह उब्जिएको गुनासो गरिन् । उनले समयमा अनुगमन हुन नसक्दा भुक्तानीमा समेत समस्या हुने गरेको बताइन् ।

कार्यक्रमका अन्य सहभागीले बिकास निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, लक्षित बर्गको बजेटबारे राम्रो सँग जानकारी दिनुपर्ने, अनुदान बितरण समानुपातीक हुनुपर्ने जस्ता विषयमा प्रश्न उठाएका थिए ।

सहभागीले गरेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष होमबहादुर रानाले गाउँपालिकाको सिमित साधन र स्रोतका बिच धेरै काम गर्नुपर्दा सबै आवश्यकता पुरा हुन स्विकारेका छन् । साथै उनले गाउँपालिकाबासीले दिएको सुझाब र गुनासोलाई सम्पतीको रुपमा लिने र आगामी दिनमा त्यस्ता गुनासो आउन नदिने प्रतिवद्धता जनाए । कर्मचारी र जनप्रतिनिधिलाई पनि उनले गुनासो नआउने गरी काम गर्न अनुरोध गरे ।

उपाध्यक्ष ललिता अधिकारीले महिलाका लागि हरेक वर्ष बजेट प्राथमिकताका साथ बिनियोजन गरेको बताउँदै सिप बिकासका कार्यक्रम निरन्तर चलिरहेको बताईन । साथै उनले कुनै समुह वा समुदायमा लक्षित बर्गको कार्यक्रम माग भएमा संचालन गर्न पनि सकिने बताईन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेदहरि अधिकारीले आर्थिक वर्ष २०७७/७८ को बजेटको सांरास, प्रगती बिवरण र चालु वर्षको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार