
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने विषयमा काँग्रेसले कुनै धारणा नबनाएको बताएका छन् ।
गठबन्धन र चुनावी तालमेल फरक विषय भएको टिप्पणी गर्दै त्यसबारे आगामी चैत्र दोस्रो साताभित्र निर्णय गरिने बताएका हुन् । आइतबार सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको हो ।



यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल छैन । यद्यपि यही गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छैन ।’ साथै महामन्त्री थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यो बेला आवश्यकताका आधारमा काँग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो ।
पछि हामीले चुनावमा तालमेल गरेनौँ, एकअर्काबीचमा प्रतिस्पर्धा गरेर चुनावी मैदानमा होमिएका थियौँ।’ उनले यो पटक पनि चुनावमा तालमेल गरेर जाने की एक्लाएक्लै लड्ने भन्ने विषयमा पार्टीभित्र ‘लबिङ’ भइरहेको बताए । अहिले काँग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको बताउँदै महामन्त्री थापाले तल्लो तहको कमिटी र नेताहरूको रायका आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने पनि जानकारी गराए ।

