
पोखरा। आउँदो ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेदवारका आकांक्षीहरु सक्रिय हुन थालेका छन् ।
पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुको आकांक्षा छ ।


कस्तो छ अवस्था ?
पोखरा महानगरपालिकामा साविकको एमाले सबैभन्दा बलियो पार्टी हो । मानबहादुर जिसी मेयरमा निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार १४ हजार मतान्तरले हारेका थिए । उपमेयरमा १२ हजारको मतान्तर थियो । त्यसमाथी मेयरमा माओवादीको समर्थन कांग्रेसलाई थियो । अहिले एमालेभित्रै माधव नेपालको एकीकृत समाजवादी पार्टी पोखरामा पनि विभाजित भएको छ ।

देखिने गरी धेरै नेता कार्यकर्ता नभएपनि पार्टी फुटेपछि त्यतिबेलाको मत तलमाथि पक्कै हुनेछ । २०७४ को स्थानीय चुनावपछि पोखरामा मात्रै करिब ४० हजार मतदाता थपिएका छन् । त्यसैले चुनावी परिणामको पूर्वानुमानमा हतार गर्नु राम्रो होइन । स्थानीय निर्वाचनको नतिजा उम्मेदवारमा समेत भर पर्छ ।
एमाले फुटेपनि कास्कीमा जनता समाजवादी पार्टीबाट धेरै नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । नेपालको राजनीतिमा जनता र मतदाता सधैँ सत्ताको विपक्षमा उभिने भएकोले केही मत त्यहाँबाट पनि तलमाथी हुन्छ । समग्रमा हालसम्मको अवस्था हेर्दा पोखराको भावी मेयर पनि सम्भवतः एमालेकै भागमा पर्न सक्छ ।

