
पोखरा। प्रेस चौतारीको महाधिवेशनको तयारी पूरा भएको छ । फागुन २७ र २८ गते पोखरामा हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो।
चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले जनाए ।


’प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ’ उनले भने ।
नयाँ नेतृत्व चयन हुने भएकोले समेत यो महाधिवेशनलाई धेरैले चासोको रुपमा हेरेका छन् । महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने संयोजक पाण्डेले बताए । अहिलेको परिवर्तन पत्रकारितामा आएका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व चयन गर्दै हार्दिकताका साथ सहमतिमै अधिवेशन सम्पन्न हुनेछ’ हालका उपाध्यक्ष समेत रहेका पाण्डेले भने ।
महाधिवेशनको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।


