
प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन्।
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६२ बमोजिम ११ सदस्यीय महाअभियोस सिफारिस समिति गठनका लागि प्रस्तुत गरिएको प्रस्ताव प्रतिनिधिसभामा बहुमतले पारित भएको सभामुख सापकोटाले घोषणा गरे।


बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ प्रतिनिधिसभा बैठकमा पेश गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सो प्रतिवेदन पेश गरेका हुन्।
बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानिँयाको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए।प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

