• आइतबार, साउन १७ २०८३

धार्मिक र पर्यटकीय सम्बन्ध जोड्न गण्डकी र मधेश सहमत


आइतबार, फाल्गुन २२ २०७८
805
Shares

गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधिकार प्राप्तिका लागि प्रदेश सरकारहरू एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् ।

मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफलमा दुवै मुख्यमन्त्रीले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेकाले आगामी दिनमा सहकार्य गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाँडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरू पूरा हुने अवस्था नरहेको बताए ।

उनले अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्ने तर्फ हामीले पनि घच्घच्याउनु आवश्यक रहेको बताए ।

साझा सरोकारका विषयमा समय समयमा मुख्यमन्त्रीहरूबीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको पनि मुख्यमन्त्री पोखरेलले बताए ।

गण्डकी प्रदेशमा आएका पर्यटनकलाई मधेस प्रदेश र मधेश प्रदेशमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाइ थियो ।

आपसी हितका बृहत् परियोजनाहरू जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोड्ने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकीका असल अभ्यासको अनुकरण आफूहरूले गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारहरूले सामूहिक रूपमा एजेन्डा बनाएर आवाज राखेको खण्डमा संघीय सरकार त्यसलाई सम्बोधन गर्न वाध्य हुने भनाइ राखे । संविधानले ग्यारेन्टी गरेका अधिकारलाई रोक्ने ताकत कसैसँग नरहेको भन्दै उनले यसको प्राप्तिका लागि आफूहरू लागिपर्ने उनले बताए ।

पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार तयार रहेको मुख्यमन्त्री राउतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार