

गोरखा । गोरखामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम थालेको छ । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनमा २ नगरपालिकासहित ११ वटै स्थानीय तहमा जित हासिल गर्ने उदेश्यले काँग्रेसले साँगठनिक विकास र भेलाको कार्यक्रम सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

‘हामी चुनावी कार्यक्रम लिएर जनताका हरेक घरमा पुग्ने योजनामा छौ, त्यसैको प्रारम्भिक कार्यक्रम यो हो’ काँग्रेसका गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने ‘जनताले काँग्रेसप्रति देखाएको विश्वासमा हामी अडिक छौ, त्यसलाई हुट्न नदिनपनि यो अभियान महत्वपूर्ण बन्छ भन्ने हाम्रो विश्वास हो ।’



अभियान फागुन २२ गते आईतवारदेखि सुरु हुने र पहिलो कार्यक्रम अजिरकोट गाउँपालिकामा आयोजना गर्ने तय भएको समेत उनले बताए ।
अभियान अन्तरगत २३ गते सिरानचोक गाउँपालिकामा, २४ गते पालुङटार नगरपालिकामा, २५ गते बारपाक सुलिकोट, २६ गते शहिदलखन गाउँपालिका, २७ गते गण्डकी गाउँपालिकामा पालिका स्तरिय भेलाको आयोजना तय गरिएको बताइएको छ ।



त्यस्तै २८ गते भीमसेन थापा गाउँपालिका, २९ गते आरुघाट गाउँपालिका, ३० गते धार्चे गाउँपालिकामा कार्यक्रम आयोजना हुनेछ । यसैगरी हिमालपारीको पालिका भनेर चिनिने चुमनुब्री गाउँपालिकामा भने चैत ३ गतेदेखि वडा भेलाको सुरुवात हुने बताइएको छ ।
भेलामा केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी र जिल्लाका पदाधिकारी सहित संम्बन्धित स्थानीय तहका नेता, कार्यकर्ताको सहभागिता रहने गोरखा काँग्रेसका प्रवक्ता भगवानबाबु मास्केले बताए ।



२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले ११ मध्ये ९ र ९४ मध्ये ४५ वडामा जित हासिल गरेको थियो ।
आगामी निर्वाचनका लागि काँग्रेसले आन्तरिक रुपमा उम्मेदवार छनोटको प्रकृया सुरु गरेको समेत जनाएको छ । प्रकृयामा जनता र कार्यकर्ताको इच्छा, राय, सुझावलाई महत्वपूर्ण स्थान दिने काँग्रेस गोरखाको भनाई छ ।
