अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट आइतवार राति अनुमोदन भएको छ।
प्रतिनिधिसभाको आइतवार दोस्रो पटक बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो।
सत्तारुढ दलले पारित गरेको ११ बुँदे व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्ले एकवटा थपेर १२ बुँदे बनाउँदै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा लिने र नेपालको संविधान नै माथि हुने उल्लेख गरेर अनुमोदन गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले संसदको आजको पहिलो बैठकमा एमसीसीमाथि छलफल प्रस्ताव राखेका थिए। दोस्रो बैठकमा पनि उनैले सम्झौता अनुमोदन प्रस्ताव गरेका थिए।
१२ बुँदे व्याख्यात्मक टिप्पणीको उपाय झिकिएपछि तत्काललाई पाँच दलीय गठबन्धन पनि फुट्नबाट जोगिएको छ। यो व्याख्यापछि एमसीसीको विरोधमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि अनुमोदनका लागि तयार भएका थिए।