गोरखा । २०५२ साल फागुन १ गते गोरखामा बसेको तत्कालिन नेकपा माओवादीको केन्द्रिय समितिको बैठकले निर्णय गरेर घोषणा गरिएको जनयुद्धका प्रथम शहिद हुन् दिल बहादुर रम्तेल । राज्य ब्यवस्था फेर्न भन्दै गरिएको जनयुद्धका क्रममा तत्कालिन नेकपा माओवादीका तर्फबाट ज्यान गुमाउने रम्तेल पहिलो ब्यक्ति थिए ।
त्यसैले उनलाई पार्टीले पहिलो शहिद घोषणा ग¥यो । २७ बर्ष अघि शहिद बनेका रम्तेललाई हिजो शनिबार देशभरका माओवादीहरुले सम्झेका छन् । उनको स्मृती कार्यक्रममा हिजो अध्यक्ष प्रचण्डले अक्षयकोष बनाउने घोषणा गरेका छन् । भलै उनलाई यो घोषणा गर्न २७ बर्ष लाग्यो ।
१४ बर्षकै उमेरमा पहिलो शहिद बनेका दिल बहादुर रम्तेलको अहिले हरेक बर्ष सम्झना मात्रै गरिदैन, उनको योगदानको पार्टीमा चर्चा पनि हुन्छ । रम्तेलकै सम्झनामा सरकारले उनि जन्मकै गाउँ गोरखाको देउरालीमा स्मृती पार्क समेत निर्माण गर्दैछ ।

३ करोड ५० लाख केन्द्रिय सरकारले र डेढ करोड स्थानीय सरकारको गरी ५ करोड रुपैया लगानी गरेर पार्क निर्माण गर्दैगर्दा शहिद रम्तेल जन्मेको घर भने जिर्ण बन्दै गएको छ । घर मात्रै जिर्ण छैन उनको परिवारमा आर्थिक संकटपनि उस्तै छ ।
जनयुद्धका क्रममा पहिलो शहिद बनेका रम्तेल परिवारलाई पार्टीले धेरै आश्वासन नबाढेको पनि होइन । तर पार्टीको आश्वासन रम्तेलका बाबु आमाका लागि ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान सिद्ध हुन पुग्यो ।
‘देशमा परिवर्तन हुन्छ भनेर हामी पनि पार्टीमा लाग्यौ, छोरा गुमायौ, तर आज ?’ दिलबहादुरका बाबु सेते रम्तेल प्रश्न गर्छन ‘परिवर्तन त आयो तर कसका लागि ? हामीले महशुस गर्न पाएनौ ।’

गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ को जराङडाँडाँमा ६ रोपनी क्षेत्रफलमा निर्माणाधिन शहिद दिल बहादुर स्मृती पार्क र उनको घर करिब १ किलोमिटरको दुरीमा छ । उनको घरमा अहिले ७० बर्ष कटेका बुवा सेते रम्तेल र आमा सरिमाया रम्तेल बस्छन् । घरमा साहारा दिने कोहि नभएपछि रम्तेलका बाबुआमाले केही बर्षदेखि छोरीलाई बोलाएर संगै राखेका छन् ।
काठ र ढुंगामाटोले बनेको घर पूरानो छ । हावा हुरी र पानी पर्दा त रातभरी जागै बस्नु पर्ने बाध्यता रम्तेल परिवारमा छ । ब्यवस्था फेर्ने आन्दोलनमा पहिलो शहिद बनेका दिल बहादुर रम्तेल परिवारमा उनका २ दाजुहरु पनि छन् । तर उनिहरुको जिविका घरमा बसेर चलेन ।
शान्ति सम्झौतापछि नेकपा माओवादी सरकारमा जादा रम्तेल परिवारले धेरै आशा नगरेका पनि होइनन् । २ भाई छोराहरुको योग्यता अनुसारको रोजगारीका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला पार्टी र सरकारी निकायसंग पटकपटक याचना पनि गरे तर कसैले नसुनेपछि निराश भएर फर्किन बाध्य भएको रम्तेल परिवारको गुनासो छ ।
‘हामी पनि तपाईकै छोरा हौं, हामी पाल्छौ भनेर उ बेला त पार्टीका सबैले भन्थे तर आज हेनुस् त हामी बुढाबुढीको अवस्था’ शहिद दिलबहादुरकी आमा सरिमाया रम्तेल गहभरी आँशु बनाउदै सम्झिन्छिन् ‘छोराको मात्रै होइन, संसारले हाम्रो पनि फोटो लगेर फाइदा लिएका छन् नि, तर हामी मर्ने बेला भाका बुढाबुढीलाई कसले हेर्ने ?’

पार्टी र राज्यले आफ्नो परिवारलाई नहेरेको सरिमायाको गुनासो छ । अहिले दिलबहादुरको एउटा दाई रोजगारीका लागि भारत गएका छन् भने अर्का गोरखा बजार नजिकै मादल बनाएर जिविका चलाउछन् ।
जराङडाँडाँमा निर्माण सुरु भएको शहिद दिल बहादुर रम्तेल स्मृती पार्कको २ बर्षअघि जनयुद्ध दिवशकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलन्यास गरेका थिए । शिलन्यास गर्न दिल बहादुरको गाउँ पुगेका प्रचण्डले उनको बाबु आमालाई समेत भेटेर बिभिन्न आश्वास पनि दिएका थिए । तर अहिलेसम्म रम्तेल परिवारमा न सरकारको आँखा पुगेको छ न पार्टीको नै ।
यता गाउँपालिका भने दिल बहादुरको स्मृतीमा पार्क बनाउनमै ब्यस्त छ । दिल बहादुर रम्तेलको स्मृतीसंगै जनयुद्धका बिम्बहरुको झल्को दिने पार्क र संग्राहलय बनाउन ५ करोड राज्यको लगानी भइरहदा रम्तेल परिवार भने बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँको अवस्थामा गुर्जिरहेका छन् ।

यता सो गाउँपालिकाको नेतृत्वमा जनयुद्धकै कमाण्डर बिष्णु प्रसाद भट्ट छन् । तर प्रथम शहिद रम्तेलको घरलाई जगेर्ना गर्नुपर्ने भएपनि स्रोत साधनको कमीका कारण समस्या भएको उनि स्विर्कान् ।
‘दिलबहादुर रम्तेलको नाममा हामीले पार्क बनाउन गुरुयोजना बनाएर अघि बढेका छौ, अहिले बनेको पार्क त्यसको एउटा अंश मात्रै हो, हामीसंग उनको घर सरंक्षण गर्नेसम्मको योजना छ तर तत्कालै गर्न स्रोत अभाव भएकै हो’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष भट्टले भने ‘संसारभरका मान्छेलाई जनयुद्धको अध्ययन गर्ने संग्रहालयका रुपमा हामी यो पार्कलाई अघि बढाउछौ ।’