• आइतबार, साउन १७ २०८३

रामचन्द्र पौडेल भन्छन् – प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ


बुधबार, फाल्गुन ११ २०७८
560
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताए । संसद्‍मा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दल र विपक्षी दलसँग समेत संवाद भइरहेको भन्दै नेता पौडेलले कांग्रेस एमसीसीबाट पछि हट्न नसक्ने बताए ।

‘कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन,’ पौडेलले भने, ‘सकेसम्म सहमतिबाट अघि बढौँ भनेर छलफल भइरहेको छ, टुंगो लागेको छैन । तर, पास गर्नुको विकल्प छैन ।’

नेता पौडेलले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न आग्रह गरेको बताए ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

उनले एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको भन्दै यसबारे चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘प्रधानमन्त्रीलाई बाध्य नपार्नुस्, तपाईंहरूले छिटो निर्णय दिनुभयो भने गठबन्धन र सरकार दुवैले गति पाउँछन्,’ पौडेलले गठबन्धनका नेताहरूसँग भनेको सुनाउँदै भने, ‘एमसीसी फेल हुँदाको परिणाम तपाईंहरूलाई पनि थाहा छ, देशलाई कुन बाटोमा लैजाने तपाईंहरूको हातमा छ ।’

नेता पौडेलले एमसीसी पास गर्नुको विकल्प नभएको बताए । ‘एमसीसी फेल भए मुलुक अनिश्चितताको बाटोतर्फ धकेलिन्छ, अनिष्ट पैदा हुन्छ, जो नेपालका लागि अत्यन्तै दुर्भाग्य हुन्छ,’ उनले भने, ‘संसद्‌मा पुगेको विषयलाई त्यहीँबाट दलहरूले छिटो निकास दिनुपर्छ ।’

सरकारले गठबन्धन दलहरूकै विरोधका बीच एमसीसी सम्झौता संसद्‌मा टेबल गरिसकेको छ । बिहीबारको बैठकमा त्यसबारे छलफल सुरु गर्ने तयारी छ । प्रधानमन्त्री देउवाले संसद्‌मा त्यसबारे दुई दिन छलफल गर्ने र पास गर्ने मनस्थिति बनाएका छन् । एमसीसीमा सहमति जुटाउन देउवाले गठबन्धन र विपक्षी सबै दलसँग संवाद गरिरहेका छन् ।

एमसीसी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्‌मा दर्ता गराए पनि अहिले एमालेले एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्नेबारे प्रस्ट पारिसकेको छैन । एमसीसीको पक्षमा मतदान गर्नुपर्ने भए आफूहरूका माग पूरा गर्नुपर्ने एमालेको माग छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार