
नेकपा माओवादी केन्द्रले सत्ता साझेदार पाँच दलमा सहमति नगरी एमसीसी संसदमा लगिए सरकार छाड्ने भएको छ। नेकपा माओवादी केन्द्र संसदीय दलको बुधबार बसेको बैठकले एमसीसीबारे विभिन्न तीन निर्णय गर्दै सरकारकी घटकको कुनै एक दलले जबरजस्ती गरेमा सरकार छाड्ने निर्णय लिएको हो।


‘पाँचदलको सहमतिबिना एमसीसी प्रस्ताव संसदमा आए माओवादी केन्द्र सरकारबाट बाहिरिन्छ, हामी सरकार छाड्छौँ। सत्तारुढ एक घटकले मात्रै पाँच दलमा सहमति नगरी एमसीसी अघि बढाए गठबन्धन त तोडिन्छ’, उनले भने, ‘एमसीसीमा रहेका असमान शर्त र प्रावधानहरु संशोधन नगरी पास गरे हामी पक्षमा उभिँदैनौँ।’
गुरुङले अहिले पनि सदन विपक्षी पार्टी (एमाले) ले अवरुद्ध गरिरहेको बताउँदै त्यसलाई सुचारु नगरी कुनै पनि कुरा अघि बढ्न नसक्ने पनि बताएका छन्।
‘दलहरुबीच सहमति नजुटी, सर्वदलीय सहमति नखोजी यो प्रक्रिया अघि बढ्दैन। एमसीसी अघि बढाउने हो भने कम्तीमा सरकारमा रहेका दलहरुबीच सहमति हुनुपर्छ’, उनले भने, ‘सरकारको कुनै एक घटकले मात्रै जबरजस्ती गर्न खोजेमा माओवादी सरकारमा बस्दैन। गठबन्धन तोडेर एमसीसी पेश गरिएमा माओवादीले सरकार छाड्ने निश्चित हो।’



पाँचै दलको निर्णयबिना सरकारको निर्णय हुन नसक्ने उनले बताए। ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुँदैन। पाँच दलीय गठबन्धनमा कुनै निर्णय भएको छैन’, उनले थपे, ‘सरकारको कुनै घटक आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ।’
गुरुङले एमसीसी अघि बढाउने शर्तमा प्रधानन्यायाधीशमाथि चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग अघि बढाइएको कुरा पनि गलत रहेको बताएका छन्।
