• आइतबार, साउन १७ २०८३

निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ : महामन्त्री थापा


मंगलबार, फाल्गुन ३ २०७८
650
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे ।

कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिने थापाले बताए। केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए ।

उनका अनुसार निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ । नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए । उनले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिए ।

टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी रहेको र यसले मात्रै पार्टी बलियोहुने बताए । नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए ।

उनले भने, “उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।” उहाँले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको १३५ वडामा सङ्गठन विस्तार गरिने उपाध्यक्ष रमेशप्रसाद हुमागाईँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार