
सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई स्वीकार गर्न नसकिने बताएका छन्।
शुक्रबार पर्साको वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे राजनीतिक दल मात्र होइन, नेपाली नागरिकबीच पनि एकमत हुन नसकेको उल्लेख गर्दै यसलाई अहिलेकै अवस्थामा अनुमोदन गर्न नसकिने बताएका हुन्।

‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन्। कतिपय कुरा मिलाउनुपर्ने छ’, उनले भने, ‘तर जनमत एमसीसीको विरुद्धमा छ। जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ, यो पनि एउटा ठूलो चुनौती छ।’ उनले एमसीसीबारे अझै राम्रोसँग अध्ययन र छलफल आवश्यक भएको बताए।
‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो’, उनले भने, ‘गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो। भए नभएको प्रचार भइरहेको छ। कतिपय कुरा सुधार गर्न मौका मिल्छ।’
यसको अध्ययन जारी रहेको र अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको अध्यक्ष नेपालले बताए। त्यसैले अहिल्यै आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न नसकिने उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी संसदबाट पारित गरेरै छाड्ने पक्षमा छन्।
