
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार साँझ ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेका हुन्।

ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४ र ५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,
‘ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्,’ अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (ऐमाले)त निर्णय गरिहाल्छ ।’
माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी पास गर्नेगरी अगाडि बढेको अवस्था छ ।

