
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्।
बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्वअध्यक्ष समशेरले यस्तो बताएका हुन्।

उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए। उनले पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए।
पूर्व अध्यक्ष राणाले भने, ‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ। त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ। अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो।’
पूर्व अध्यक्ष राणाले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए।
उनले भने, ‘तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।’
