
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
नेता कोइराला केही बेरअघि प्रचण्ड निवास खुमलटार पुगेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल हुनेछ। भेटवार्तामा प्रचण्डसँगै माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।
एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।
यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) मा भेटवार्ता गरेका थिए।

