• शनिबार, साउन १६ २०८३

मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन होइन : चित्रबहादुर केसी


बिहिबार, माघ २७ २०७८
645
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन  नभएको बताएका छन् । 

एमसीसी खारेजीको माग गर्दै बुधबार काठमाडौंमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधनका क्रममा केसीले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जसरी पनि थोपर्न खोजेको गुनासो गरे। 

केसीले साम्राज्यवादको जुठो खाएका केही बुद्धिजीवीहरुले एमसीसी नभए देशको विकासै हुँदैन भनिरहेको आरोप पनि लगाएका छन्। 

‘अमेरिकी साम्राज्यवादको जुठोपुरो खाएका केही बुद्धिजीवीहरु एमसीसी नभइ हुँदैन भनिरहेका छन्। एमसीसी नस्वीकारे विदेशीले नेपाललाई पत्याउँदैनन् भन्दैछन्’ केसीले भने, ‘अरु देशले दिएर नेपाल धनी हुने भए किन दैनिक दुई हजार नेपाली देश छोडेर अर्कैको मुलुकमा जानुपर्थ्यो? किन नेपालीले दुःख पाउनुपर्थ्यो?’

अध्यक्ष केसीले अमेरिकाले नेपाललाई जसरी पनि एमसीसी भिडाउन चाहेको बताए। त्यसका लागि शासकहरुलाई विभिन्न लोभ लालच देखाएको उनले बताए। ‘अमेरिकाले नेपालबाट चीन घेर्ने रणनीति अन्तर्गत नेपालमा एमसीसी लागू गर्न खोजेको हो। नेपाललाई एमसीसी नभिराई उसलाई भएकै छैन’ केसीले भने, ‘साम्राज्यवादी भनेका काजगी बाघ हुन्। उनीहरुविरुद्ध देशभक्त नेपाली जनता एक ठाउँमा उभिन आवश्यक छ।’

केसीले एमसीसीविरुद्धको सहकार्यलाई थप बढाउँदै एमसीसी खारेज गर्नुपर्ने दृढता व्यक्त गरेका छन्। केसीले मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन नभएको पनि बताएका छन्। केसीले प्रतिगमनविरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा त्यो हुन नसक्ने बताए।

उनले जनमोर्चाले गठबन्धनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए। अहिले संसद् र न्यायालयलाई दलहरूले ध्वस्त पार्ने काम गरेको उनले बताए। शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरूले बेठिक काम गरेको पनि उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार