• शनिबार, साउन १६ २०८३

कमल थापाले छाडे पनि राप्रपाको जीवनमा केही फरक पर्दैन : राजेन्द्र लिङ्देन


बिहिबार, माघ २७ २०७८
830
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन्।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन्। राप्रपा अझै दृढ, संगठित र सशक्त रूपले अगाडि बढ्ने उनले बताए।

अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैं सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन। हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौं।’

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरूलाई आह्वान गरे। 

पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे। 

उनले भने, ‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौं। र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नु हुने छैन।

अहिले भूमिकाविहीन रहेका केही साथीहरूले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ। अरू साथीहरूलाई पनि हामी आग्रह गर्छौं, उहाँहरूलाई पनि आग्रह गर्छौं र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरूलाई आह्वान गर्छौं कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन। राप्रपा अझ दृढ, अझ सशक्त ढंगले अगाडि बढ्छ। र यसलाई हामीले शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्छौं।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरे। थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे।

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रूपमा लिएको उल्लेख गरे।

छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उनले स्पष्ट पारे। निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार