• शनिबार, साउन १६ २०८३

कमल थापाले दिए राप्रपाबाट राजीनामा


मंगलबार, माघ २५ २०७८
810
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन्। मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा छाडेको घोषणा गरेका हुन्।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्,‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छ। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।’

यसअघि सोमबार उनले आफूपक्षिय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए।

‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भनेका थिए, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दु:ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार